काठमाडौ,२८ कार्तिक । नेपालमा शंकास्पद गतिविधिमा संलग्न चार जना चिनियाँ नागरिकलाई अध्यागमन विभागले शुक्रबार नियन्त्रणमा लिएको छ। व्यावसायिक भिसामा नेपाल बसेका एक महिला र तीन पुरुषलाई काठमाडौंको सोह्रखुट्टे, म्हैपीस्थित मिलिजुली चोक (चाइनिज हाउजिङका नामले चिनिने क्षेत्र)बाट पक्राउ गरिएको विभागले बताएको छ।
अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार उनीहरूले व्यावसायिक भिसा लिएको भए पनि आफूहरूको व्यवसाय, कम्पनीको नाम वा सो सम्बन्धमा कुनै विवरण दिन नसकेका कारण उनीहरू गतिविधि शंकास्पद रहेको ठहरिएको हो।
प्रारम्भिक अनुसन्धान अनुसार ती व्यक्तिहरू आर्थिक रूपमा कमजोर नेपाली युवतीलाई जागिरको प्रलोभन देखाई टिकटक भिडियो बनाउन लगाउने, टिकटकमार्फत अन्य चिनियाँ नागरिकसँग ‘साथी–संबन्ध’ बनाइदिने र त्यसपछि विवाह गर्न दवाब दिने कार्यमा संलग्न रहेको खुलेको छ। विभागका अनुसार केही नेपाली युवतीलाई चीनमा लगेर विवाह गराइदिने प्रलोभनमा पठाइसकिएको पनि पाइएको छ।
उनीहरूले म्हैपीमा घर भाडामा लिएर नेपाली युवती राख्ने, नेपाललाई केन्द्र बनाएर युवतीहरूलाई अन्य मुलुकमा लैजाने तथा भ्रमण गराउने गतिविधि गरेको समेत अनुसन्धानमा खुलेको छ। नियन्त्रणमा परेकामध्ये दुई जना विगत १० वर्षदेखि पर्यटक, अध्ययन वा व्यवसायिक भिसामा ल्भउब िबसेको र छापा मार्दा उनीहरूले पासपोर्ट तथा भिसा देखाउन नसकेको, साथै अध्यागमन तथा सुरक्षाकर्मीलाई दुर्व्यवहार गरेको पुष्टि भएको विभागले जनाएको छ।
अध्यागमन ऐन, २०४९ अनुसार विदेशी नागरिकको प्रवेश, बसोबास र गतिविधि जुनसुकै बेला जाँच गर्न सकिन्छ। भिसा नियम उल्लङ्घन वा शंकास्पद गतिविधिमा संलग्न विदेशीलाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्न, देश निकाला गर्न तथा पुनःप्रवेशमा रोक लगाउने कानुनी व्यवस्था छ।
प्रवक्ता ढकालका अनुसार भिसाको उद्देश्य विपरीत कार्य गर्ने वा गैरकानूनी रूपमा बसोबास गर्ने विदेशी नागरिकमाथि अध्यागमन कानूनबमोजिम कडा कारबाही हुने छ।
प्रतिक्रिया दिनुहोस