काठमाडौ,३ मंसिर । नेपाल टेलिकमले कर्णालीका दुर्गम तथा अति विकट क्षेत्रमा 2G/4G सेवा विस्तार गर्दै नयाँ स्थानहरूमा सेवा सञ्चालनमा ल्याएको छ।
टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरका अनुसार हुम्लाको सर्केगाड–३ र ६ मा 2G तथा 4G सेवा औपचारिक रूपमा सक्रिय गरिएका छन्। यसअघि दूरसञ्चार पहुँच सीमित रहेका सर्केगाड २, ३, ४ र ६ का गाउँबस्तीका उपभोक्ताले पहिलो पटक गुणस्तरीय 2G/4G सेवा प्रयोग गर्न पाएका छन्।
उनापानी, स्यालटाडी, बराई गाउँ, ठूलाचौर, साधेकाट, रिपा र सर्केदेउललगायत क्षेत्रमा पनि नेटवर्क सञ्चालनमा ल्याइएको टेलिकमले जनाएको छ। यससँगै देशभर 4G सेवा पुगेका स्थानीय तहको संख्या ७४९ पुगेको छ।
यसबाहेक हुम्लाकै अदानचुली–६ मा समेत 2G/4G सेवा सञ्चालनमा आएपछि अदानचुली–२, ३, ४, ५ र ६ का वडामा पर्ने गाउँबस्तीका उपभोक्ता लाभान्वित भएका छन्। पानचौर, कालिका लगायतका स्थानहरूमा पनि सेवा सुरु गरिएको कम्पनीले जनाएको छ।
दैलेखको गुराँस गाउँपालिकामा 4G सेवा चालू भएपछि गुराँस–३, ४ र ५ का बस्तीहरू, गुराँस बजार, गाउँपालिका कार्यालय क्षेत्र, गोगनपानी, पातीकान्ला, साथै वीरेन्द्रनगर–१४ को बयलकाँडा र बराहताल–९ को लेकगाउँमा रहेका उपभोक्ताले पहिलो पटक उच्चगति सञ्चार सेवा पाएका छन्।
जाजरकोटको जुनीचाँदे गाउँपालिकाको कोत्राङ्गमा पनि 2G/4G सेवा सक्रिय गरिएपछि वडा नं. ७, ८, ९, १० र ११ भित्रका गाउँबस्तीका बासिन्दा दूरसञ्चार पहुँचमा जोडिएका छन्।
त्यस्तै, डोल्पाको ठूलीभेरी नगरपालिका र शे–फोक्सुन्डो गाउँपालिकाका दर्जनौं बस्ती पनि सेवा दायरामा आएका छन्। वडा–१० को मिदग्ती लेकमा फोरजी टावर सञ्चालनमा आएपछि पहिलेदेखि सञ्चारविहीन रहेका फोक्सुन्डो ट्रेल, यार्सा पाटनसहितका धेरै गाउँहरू अब मोबाइल नेटवर्कमा जोडिएका छन्।
सुलिगाडस्थित राष्ट्रिय निकुञ्ज कार्यालय, सैनिक ब्यारेक, छेप्का, भोक्पा, सागबारी आदिजस्ता स्थानहरूमा पनि सेवा पुगेको टेलिकमले जानकारी दिएको छ।
टेलिकमका अनुसार सरकारको ‘ग्रामीण तहसम्म दूरसञ्चार सेवा विस्तार’ नीतिअनुसार कम प्रतिफल र उच्च लागत हुने स्थानहरूमा पनि समानरूपमा सेवा विस्तारको काम जारी राखिएको छ।
दुर्गम तथा अति विकट भूभागका नागरिकलाई डिजिटल सुविधामा जोड्न निरन्तर सेवा विस्तार गरिएको टेलिकमले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस