काठमाडौ,३ मंसिर । तुलसीपुरस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षका पहिलो चार महिनामा ७२ करोड १६ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। साउनदेखि कात्तिक मसान्तसम्म ८९ करोड ९१ लाख ६१ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य रहेकामा ८०.२५ प्रतिशत मात्र संकलन भएको कर अधिकृत उपेन्द्र पुन मगरले जानकारी दिए।
गत वर्षको यही अवधिमा कार्यालयले ७० करोड ३८ लाख ५८ हजार रुपैयाँ संकलन गरेको थियो। यस वर्ष लक्ष्य अनुपातमा राजस्व घट्नुका कारणबारे प्रमुख कर अधिकृत श्रीधर टण्डनले आयकर विवरण नपेश गर्ने करदाताको संख्या बढ्नु, जेन-जी आन्दोलनका कारण कार्यालयमा क्षति हुँदा सेवा प्रभावित हुनु, मालपोत कार्यालयमा पुँजीगत लाभकर कमी हुनु लगायत कारण छन्।
टण्डनका अनुसार पुँजीगत खर्चमा कमी, ब्याजदर घट्दा ब्याज कर घट्नु, आन्दोलनपछि कार्यालय व्यवस्थापनमा ध्यान दिनुपर्ने भएकाले प्रवर्द्धनात्मक तथा निरोधात्मक गतिविधि तीव्रता दिन नसकिएको पनि राजस्व घट्नामागि रहेको छ।
गत आर्थिक वर्ष २०८१–८२ मा कार्यालयले तीन अर्ब १४ करोड ८६ लाखको लक्ष्यमध्ये दुई अर्ब ९४ करोड २४ लाख राजस्व संकलन गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा ५४ करोड ६० लाख बढी हो।
चालु वर्षमा बाँकी अवधिमा प्रभावकारी करदाता शिक्षा, आर्थिक ऐन २०८२ मा प्रदान गरिएका छुट सुविधाको प्रचार–प्रसार, कर छली नियन्त्रण, बक्यौता असुली लगायतका कार्यलाई तीव्र बनाउँदै वार्षिक लक्ष्य पूरा गर्ने प्रतिबद्धता टण्डनले व्यक्त गरे।
आर्थिक ऐन २०८२ ले भ्याट, अन्तशुल्क तथा आयकरका विभिन्न श्रेणीका करदातालाई पुस मसान्तसम्म छुट सुविधा उपलब्ध गराएको कार्यालयले जनाएको छ। करदातालाई समयमै सुविधा उपयोग गर्न कार्यालयले आग्रह गरेको छ।
सञ्चारमाध्यम, उद्योग वाणिज्य संघलगायतसँग समन्वय गरी छुट सम्बन्धी प्रचार–प्रसार गर्न अनुरोध गरिएको छ। कार्यालयका सेवा सरल, सहज र गुणस्तरीय बनाउन अनलाइन प्रणालीमार्फत कर भुक्तानी, कर विवरण, करचुक्ता प्रमाणपत्र लगायत सेवा उपलब्ध गराइएको जानकारी पनि टण्डनले दिए।
सेवाग्राहीलाई सहजीकरण गर्न उद्योग वाणिज्य संघको सहकार्यमा करदाता सहायता कक्ष सञ्चालनमा छ भने राजस्व बुझाउन ग्लोबल आइएमई बैंकको काउण्टर कार्यालयमै सञ्चालन गरिएको छ।
लुम्बिनी प्रदेशअन्तर्गत दाङ, पूर्वी रुकुम, रोल्पा र प्युठानमा ४३ हजार ३९ व्यावसायिक, एक लाख २४ हजार ६९८ व्यक्तिगत तथा ७६६ संस्थागत स्थायी लेखा नम्बर (PAN) दर्ता गरिएका छन्।
जेन-जी आन्दोलनका क्रममा कार्यालयका तीनवटै भवन तथा सवारीसाधन जलेर नष्ट भएपछि केही दिन सेवा पूर्ण रूपमा बन्द भएको थियो। त्यसपछि अस्थायी रूपमा उद्योग वाणिज्य संघको कार्यकक्षबाट सेवा दिइएको र हाल त्रिसिद्धेश्वरी मन्दिरस्थित धर्मशालाबाट सेवा सञ्चालन भइरहेको कार्यालयले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस