after_navbar

आठदिने आधारभूत मेलमिलाप तालिम सम्पन्न


मङि्सर ०४, २०८२


दाङ,३ मंसिर । कपिलवस्तुमा ८ दिने आधारभूत मेलमिलाप तालिम सम्पन्न भएको छ। बुद्धभूमि नगरपालिका कपिलवस्तु र जनहित संरक्षण मञ्च (प्रो पब्लिक) को संयुक्त आयोजनामा “हाम्रो समस्या, हाम्रै समाधान : मेलमिलाप” भन्ने नारासहित उक्त तालिम सम्पन्न भएको हो

नागरिक शान्ति सेवा कार्यक्रमअन्तर्गत प्रो पब्लिकले विगत तीन वर्षदेखि स्थानीय तहमा उत्पन्न विवादहरूलाई समूदायकै सहभागितामा दीगो रूपमा समाधान गर्ने उद्देश्यका साथ विभिन्न तालिमहरू संचालन गर्दै आएको छ। यसै क्रमलाई निरन्तरता दिँदै, नगरपालिका अन्तर्गत १० वटै वडामा स्थापना भएका मेलमिलाप केन्द्रहरूमा निष्पक्ष, विधिसम्मत र प्रभावकारी ढंगले विवाद समाधान गर्न सक्षम मेलमिलापकर्ता तयार गर्ने लक्ष्यसहित दोस्रो चरणको यो तालिम आयोजना गरिएको कार्यक्रम संयोजक झबिन्द्र अधिकारीले जानकारी दिए।

मेलमिलाप परिषद्मा सूचीकृत र आधिकारिक तालिम प्रदान गर्ने स्वीकृति प्राप्त संस्था प्रो पब्लिकका प्रशिक्षक अधिवक्ता कविता पाँडे र झबिन्द्र प्रसाद अधिकारीले संयुक्त रूपमा तालिम सञ्चालन गरेका थिए।

तालिममा मेलमिलापसम्बन्धी कानुनी प्रावधान, सञ्चार तथा सहजिकरण सीप, मेलमिलापकर्ताको गुण तथा भूमिका, चरणगत मेलमिलाप प्रक्रिया, मानव अधिकार, मनोसामाजिक पक्ष तथा प्रशंसनीय दृष्टिकोणलगायत विषयमा सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो।

कार्तिक २७ गतेदेखि मंसिर २ गतेसम्म सञ्चालन भएको तालिमबाट ३० जना स्थानीय अगुवाहरू मेलमिलापकर्ताका रूपमा तयार भएका छन्।

समापन कार्यक्रममा सहभागीहरूले तालिमले व्यक्तिगत व्यवहारमा सकारात्मक परिवर्तन ल्याएको, स्वयम्‌सेवा गर्ने भावना जागृत भएको र विवाद समाधान गर्ने आत्मविश्वास बढेको अनुभव साझा गरे।

नगर प्रवक्ता तथा वडाध्यक्षका प्रतिनिधि तेज ब. बस्नेत (तिलक) ले वडाले सक्षम व्यक्तिहरूलाई तालिमका लागि सिफारिस गरेको बताउँदै, फौजदारी प्रकृतिका विवाद तथा वडाको अधिकारक्षेत्रबाहिर पर्ने विवाद स्थानीय मेलमिलापकर्ताले हेर्न नहुने कुरा स्पष्ट गरे।

त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत बासुदेव भट्टराईले मेलमिलाप प्रवर्द्धनका लागि आवश्यक भौतिक तथा बजेट व्यवस्थापन नगरपालिकाले गर्दै आएको र यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमको अध्यक्षता उपप्रमुख तथा न्यायिक समिति संयोजक मिरा थारुले न्यायिक समितिको कार्यमा मेलमिलापकर्ताले दिन सक्ने सहयोगप्रति विश्वास व्यक्त गर्दै सहभागी, आयोजक तथा प्रशिक्षकप्रति धन्यवाद दिँदै तालिम समापन गरे।

प्रतिक्रिया दिनुहोस

data-href="