after_navbar

तुलसीपुर महोत्सव: आज पशुपति शर्मा आउँदै


घण्टा अगाडि


दाङ,८ पुस । दाङको तुलसीपुरमा जारी प्रथम तुलसीपुर महोत्सवको पाँचौँ दिन आज चर्चित गायक पशुपति शर्माको विशेष प्रस्तुति रहने भएको छ । महोत्सवमा पशुपति शर्मासँगै गायक पिताम्बर रिजाल र गायिका शान्ता वलीलगायत कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

ad

महोत्सवमा दिनप्रतिदिन दर्शकको उत्साह र रौनक बढ्दै गएको छ । चौथो दिनसम्म हजारौँ टिकट बिक्री भइसकेको आयोजकको भनाइ छ । पाँचौँ दिन आज पनि उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक लालबहादुर केसीले बताए ।

महोत्सवमार्फत स्थानीय उत्पादनको बजारीकरण, स्थानीय कला संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा टेवा पुगेको आयोजकले जनाएको छ । महोत्सवमा जुम्लाको मार्सी चामलदेखि रुकुम पश्चिमको सिस्नो अत्यधिक रूपमा बिक्री भइरहेको छ ।

स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै आर्थिक गतिविधि चलायमान बनाउने उद्देश्यले तुलसीपुरमा पुस ४ गतेदेखि प्रथम तुलसीपुर महोत्सव सुरु गरिएको हो । पुस १९ गतेसम्म सञ्चालन हुने महोत्सवमा दैनिकजसो स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने महोत्सव मूल आयोजक समितिका सदस्य सचीव भद्रबहादुर वलीले जानकारी दिए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा सञ्चालन भइरहेको महोत्सवमा कृषि, हस्तकला तथा पशुपालनसम्बन्धी स्टलहरू निःशुल्क रूपमा उपलब्ध गराइएको आयोजकले जनाएको छ । आजको कार्यक्रमले महोत्सवलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="