after_navbar

बालविवाह रोक्न विद्यालय केन्द्रित सचेतना अभियान


पुष ११, २०८२


सल्यान, ११ पुस । सल्यानको कालिमाटी गाउँपालिकामा बढ्दै गएको बालविवाहको समस्या न्यूनीकरण गर्न विद्यालय र अभिभावक लक्षित सचेतना अभियान सञ्चालन गरिएको छ । “बिहेवारी २० वर्ष पारी” भन्ने सन्देशसहित पालिकाभर यो कार्यक्रम अघि बढाइएको हो ।

ad

गाउँपालिकाका सातै वडामा सञ्चालन गरिएको अभियानमा १० वटा माध्यमिक विद्यालयका १ हजार २५५ जना विद्यार्थी प्रत्यक्ष सहभागी बनेका छन् । यस्तै, ५ सय ४१ जना अभिभावकले पनि कार्यक्रममा सहभागिता जनाउँदै बालविवाहका जोखिम र असरबारे जानकारी लिएका छन् ।

कार्यक्रममा बालविवाहका कारण, यसले बालबालिकाको शिक्षा, स्वास्थ्य र भविष्यमा पार्ने असर, अभिभावक र समुदायको भूमिका, साथै रोकथामका उपाय र कानुनी व्यवस्थाबारे जानकारी दिइएको थियो ।

गाउँपालिकाका प्रशासकीय अधिकृत यज्ञबहादुर खत्री र इलाका प्रहरी कार्यालय कालिमाटीका प्रहरी वरिष्ठ नायब निरीक्षक कुलबहादुर खड्काले प्रशिक्षण दिएका थिए ।

कालिमाटी गाउँपालिकाका अध्यक्ष दानबहादुर खत्री केसीको अगुवाइमा सञ्चालित कार्यक्रममा सहभागी विद्यार्थीहरूले आफू बालविवाह नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा सहभागी अभिभावकहरूले पनि सामाजिक दबाब र ‘कुरा मिलाउने’ चलनका कारण बालविवाह हुँदै आएको स्वीकार्दै अबदेखि सचेत भई यसको अन्त्यका लागि भूमिका खेल्ने बताएका छन् ।

मुलुकी अपराध संहिता, २०७४ अनुसार २० वर्ष नपुगी विवाह गरे वा गराएमा विवाह स्वतः बदर हुने र कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

बालविवाह भएको थाहा पाएमा विवाह भएको तीन महिनाभित्र जो कोहीले पनि उजुरी दिन सक्ने प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="