after_navbar

महोत्सवमा आज बद्री पंगेनी, कमल गाउँले र टिका सानु आउँदै


पुष १५, २०८२


दाङ,१५ पुस । दाङको तुलसीपुरमा प्रथम तुलसीपुर महोत्सव २०८२ सञ्चालन भइरहेको छ। पुस ४ गतेदेखि सुरु भएको महोत्सवमा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहँदै आएको छ।

ad

स्थानीय उत्पादनको प्रवर्द्धन, घरेलु तथा साना उद्योगको विकास तथा औद्योगिक वातावरण सुदृढ गर्दै दिगो अर्थतन्त्रको आधार निर्माण गर्ने उद्देश्यसहित सञ्चालन भइरहेको प्रथम तुलसीपुर महोत्सव–२०८२ अन्तर्गत आज पनि राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक कार्यक्रम हुनेछ ।

आयोजकका अनुसार आजको कार्यक्रमको मुख्य आकर्षणका रूपमा चर्चित लोकगायक बद्री पंगेनी, गायिका टीका सानु, गायक एम.टी. महर तथा नृत्यतर्फ सन्ध्या मगरको विशेष प्रस्तुति रहनेछ। साथै हास्य कलाकार कमल गाउँलेले व्यङ्ग्यात्मक प्रस्तुति प्रस्तुत गर्नेछन् भने सोनी डान्स ग्रुपसहित विभिन्न नृत्य समूहले दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गर्नेछन्। कार्यक्रमको उद्घोषण माधव जोन खत्रीले गर्नेछन्।

महोत्सवमा लोकदोहोरी, सामूहिक लोकनृत्य तथा आकर्षक नृत्य प्रस्तुतिसँगै सोनी डान्स ग्रुप, प्राकृतिक कला केन्द्र, दोभान कला केन्द्र, द डान्स हब, काइजन डान्स एकेडेमी, आरएन डान्स स्टुडियो तथा स्थानीय कलाकारहरूको निरन्तर प्रस्तुति भइरहेको छ।

साथै बालबालिकाका लागि मनोरञ्जनात्मक खेलहरू, लण्डन गेट, जलपरी, चर्खे पिङ, ढुंगा पिङलगायतका संरचनाले महोत्सवलाई थप आकर्षक बनाएको छ।
महोत्सव अवलोकन गर्न पुगेका दर्शक सौरभ गौतमले भने, “एकै ठाउँमा लोकगीत, हास्य, नृत्य र स्थानीय उत्पादन हेर्न पाउँदा निकै खुशी लागेको छ। परिवारसहित घुम्न आउनका लागि महोत्सव उत्कृष्ट बनेको छ।”

नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुर, दाङको आयोजनामा तथा तुलसीपुर उपमहानगरपालिकाको संरक्षणमा सञ्चालन भइरहेको महोत्सव पुस ४ गतेदेखि पुस १९ गतेसम्म तुलसीपुर–६ घोराही रोडस्थित शान्ति सिनेमा हलको पूर्वतर्फको खुल्ला मैदानमा सञ्चालन हुनेछ।

आयोजकले महोत्सवले स्थानीय उद्यम, घरेलु उद्योग, कला–संस्कृति तथा पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको उल्लेख गर्दै आजको कार्यक्रममा उपस्थित भई कलाकारहरूको प्रस्तुति अवलोकन गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="