काठमाडौँ ,१९ पुस। नेपाल बीमा प्राधिकरणले विद्यालय तहको पाठ्यपुस्तकमा बीमा शिक्षा समावेश गर्ने प्रक्रिया अगाडि बढाएको छ। यसका लागि प्राधिकरणले सम्बन्धित निकायसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा पाठ्यक्रम विकास केन्द्र, राष्ट्रिय परीक्षा बोर्ड, शैक्षिक गुणस्तर परीक्षण केन्द्र तथा सामाजिक अध्ययन विषयका विज्ञहरूको सहभागिता रहेको थियो। विद्यालय तहको अनिवार्य विषय सामाजिक अध्ययनको पाठ्यपुस्तक परिमार्जन तथा पुनर्लेखन गर्दा बीमाका विषयलाई प्राथमिकताका साथ समेट्ने उद्देश्यले अन्तरक्रिया गरिएको प्राधिकरणले जनाएको छ।
अन्तरक्रियामा नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले विद्यालय तहदेखि नै बीमाको आवश्यकता र महत्वबारे जानकारी दिनु जरुरी रहेको बताए।
उनले बीमालाई मानव जीवनको अभिन्न अङ्गका रूपमा विकास गर्नुपर्ने उल्लेख गर्दै सानैदेखि बीमाबारे चेतना फैलाउन सके जीवन र सम्पत्तिको वित्तीय सुरक्षामा सहयोग पुग्ने बताए। बीमाको दायरा विस्तार हुँदा जोखिम न्यूनीकरण हुने र देशको आर्थिक विकासमा समेत टेवा पुग्ने उनको भनाइ छ।
पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले पाठ्यक्रम परिमार्जनका क्रममा बीमा शिक्षालाई सन्तुलित रूपमा समावेश गरिने जानकारी दिए। परिमार्जित पाठ्यक्रम सबै प्रक्रिया पूरा गरी आगामी २०८४ सालको शैक्षिक सत्रदेखि देशभर लागू हुने उनले बताए।
यस्तै, त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. रामकृष्ण तिवारीले पाठ्यपुस्तक लेखन तथा प्रश्नपत्र निर्माण गर्दा बीमासम्बन्धी विषयलाई समेट्न लेखक र विज्ञलाई आग्रह गरे।
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले प्रस्तावित पाठ्यक्रम र शिक्षक निर्देशिकाका लागि आवश्यक विषयवस्तु पहिचान गरी पाठ्यक्रम विकास केन्द्रलाई सुझाव उपलब्ध गराइने बताए। अन्तरक्रियामा कक्षा ४ देखि १२ सम्मको सामाजिक अध्ययन विषयमा बीमा शिक्षाका विभिन्न पक्ष समावेश गर्नेबारे छलफल भएको थियो।
कार्यक्रममा उपनिर्देशक पदमप्रसाद सोडारीले बीमा शिक्षा सम्बन्धी प्रस्तुति दिएका थिए। साथै विभिन्न निकायका पदाधिकारी तथा विषय विज्ञहरूको सहभागिता रहेको थियो।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस