after_navbar

दंगीशरणमा आठौँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिता


पुष २२, २०८२


दाङ । दंगीशरण गाउँपालिकामा आठौँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिता सुरु भएको छ। भानु माध्यमिक विद्यालय, पर्सडुवाको व्यवस्थापनमा तथा गाउँ पालिकाको आयोजनामा प्रतियोगिता भएको हो ।

ad

दंगीशरण गाउँपालिकाका सामाजिक विकास समितिका सभापति तथा वडा नम्बर ६ का वडा अध्यक्ष रोशन जंग शाहको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली काङ्ग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष शम्भु गिरी र उपाध्यक्ष पीमा ओली खड्काको विशिष्ट आतिथ्यता रहेको थियो ।

उद्घाटन समारोहमा बोल्दै पूर्व मुख्यमन्त्री माननीय डिल्लीबहादुर चौधरीले राष्ट्रपति रनिङशील्डजस्ता प्रतियोगिताले स्थानीय तहलाई मात्र होइन, सिङ्गो देशलाई नै चिनाउने खेलाडी उत्पादन गर्ने आधार तयार गर्ने बताए। दङ्गीशरण गाउँपालिका खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा समेत परिचित बन्न सक्ने उनको भनाइ थियो।
उनले खेलकुद विकासका लागि स्पष्ट योजना सहित गाउँपालिकाबाट पहल भए लुम्बिनी प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, खेलकुद पूर्वाधार निर्माणमा समेत प्रदेश सरकारबाट सहयोग उपलब्ध गराएको र थप पनि गराउने आश्वासन दिए।

पूर्व मुख्यमन्त्री चौधरीले विकासका नाममा अनावश्यक विवाद नगरी सबै मिलेर सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिए। “खेलकुद जीवन चिनाउने महत्वपूर्ण माध्यम हो,” उनले भने, “यहाँकै विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले भोलि यो ठाउँ र देशलाई चिनाउने छन्।”
कार्यक्रममा गाउँपालिका पदाधिकारी, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, शिक्षक, अभिभावक तथा स्थानीय व्यक्तित्वहरूले खेलाडीहरूलाई शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
गाउँपालिकाभित्रका विभिन्न विद्यालयका विद्यार्थी खेलाडीहरूको सहभागितामा सुरु भएको प्रतियोगिताले स्थानीय स्तरमा खेलकुद विकास र प्रतिभा पहिचानमा टेवा पुग्ने अपेक्षा गरिएको वडा अध्यक्ष रोशन जंग शाहले बताए कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक महेन्द्र केसीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="