काठमाडौँ, २८ पुस । आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई अमरावती बुटिक होटलले नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।
अमरावती बुटिक होटलका प्रबन्ध निर्देशक कुशल श्रेष्ठले प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीलाई ५० हजार रुपैयाँ र सर्वाधिक विकेट लिने खेलाडीलाई ३५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् ।
महिला क्रिकेटलाई प्रोत्साहन गर्ने उद्देश्यले नगद पुरस्कारको व्यवस्था गरिएको श्रेष्ठले बताए । उनले भने, “महिला क्रिकेट आज विश्वस्तरमा तीव्र रूपमा अगाडि बढिरहेको छ । यस्तो अवस्थामा हाम्रा खेलाडीलाई सम्मान र हौसला दिनु हाम्रो दायित्व हो ।”
आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोट माघ ४ गतेदेखि १८ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा आयोजना हुने छ ।
ग्लोबल छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ ।
नेपालले छनोटको पहिलो खेल जनवरी १८ तारिख थाइल्यान्डसँग खेल्ने तालिका रहेको छ । समूह ‘बी’ मा नेपालसहित स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बाब्वे र नेदरल्यान्ड्स रहेका छन् ।
यस छनोटमा १० देशको सहभागिता रहनेछ । समूह ‘ए’ मा बङ्गलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी (पिएनजी), नामिबिया र अमेरिका रहेका छन् ।
छनोट खेलका शीर्ष चार टोली सन् २०२६ जुन १२ देखि जुलाई ५ तारिखसम्म इङल्यान्ड र वेल्समा आयोजना हुने आइसिसी महिला टी–२० विश्वकपका लागि छनोट हुनेछन् ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस