after_navbar

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ


माघ ०४, २०८२


काठमाडौं,३ माघ । आगामी टी–२० विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई औपचारिक रूपमा बिदाइ गरिएको छ। क्यानका अध्यक्ष चतुरबहादुर चन्द र नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले नेपाली टोलीको बिदाइ गरेका हुन्।

ad

सो अवसरमा नेता डा. शर्माले वेस्ट इन्डिजसँगको टी–२० शृङ्खला जितेको नेपाली टोलीलाई पूर्वघोषित २० लाख रुपैयाँ पुरस्कार हस्तान्तरण गरे। साथै आगामी विश्वकपमा नेपाली टोली सुपर आठमा प्रवेश गरे थप २० लाख रुपैयाँ दिने घोषणा पनि उनले गरे।

डा. शर्माले नेपाली राष्ट्रिय महिला तथा पुरुष टोलीका खेलाडी र उनीहरूको परिवारलाई निःशुल्क उपचार गराउँदै आएको उल्लेख गर्दै सम्झौताको अवधि सकिए पनि यो सेवा निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गरे। साथै उनले नेपाल सरकारसमक्ष खेलाडी जीवनबाट अवकाशपछि खेलाडीहरूलाई पेन्सनको व्यवस्था गर्न माग समेत राखे।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले टेस्ट राष्ट्रसँग धेरै खेल्न नपाए पनि लगातारको व्यस्ततालाई नेपाली टोलीको राम्रो तयारीका रूपमा व्याख्या गरे। टोली सन्तुलित रहेको उल्लेख गर्दै उनले नेपाली टोली विश्वकपको सुपर आठमा पुग्ने आशा व्यक्त गरे। यसपटक नेपाली टोलीले देशलाई गर्व गर्ने परिणाम ल्याउने विश्वास पनि उनले व्यक्त गरे।

क्यानका सचिव तथा नेपाली टोलीका पूर्वकप्तान पारस खड्काले नेपाली क्रिकेट टोलीप्रति देशको ठूलो अपेक्षा रहेको र विश्व क्रिकेटले पनि नेपाली टोलीलाई नजिकबाट नियाली रहेको बताए। नेपाली खेलाडीहरू सबैका आदर्श पात्र भएकाले मैदानभित्र र बाहिर दुवै स्थानमा अनुशासित रहनुपर्ने सुझाव उनले दिए।

पारस खड्काले विश्वकपपछि पनि कम्तीमा एउटा टेस्ट राष्ट्रसँग खेल्ने प्रक्रियामा रहेको जानकारी दिए। वेस्ट इन्डिजसँगको जितपछि टोलीको उत्साह बढेकाले टेस्ट राष्ट्रसँग शृङ्खला आयोजना गर्ने तयारी भइरहेको उनले बताए। परिणाम जे आए पनि यो विश्वकप नेपाली टोलीका लागि ठूलो अवसर रहेको उनको भनाइ छ।

पारस खड्काकै कप्तानीमा नेपालले सन् २०१४ मा बङ्गलादेशमा पहिलोपटक टी–२० विश्वकप खेलेको थियो। दोस्रो पटक विश्वकप खेल्न नेपाललाई १० वर्ष लागेको भए पनि यसपटक भने तेस्रो पटक लगातार विश्वकप खेल्न लागेको हो। यस विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ। सो समूहमा इङ्ल्यान्ड, इटाली, वेस्ट इन्डिज र बङ्गलादेश रहेका छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="