दाङ११माघ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ को सहजीकरणमा तुलसीपुर सिटी हस्पिटल प्रालिको प्राविधिक सहयोग तथा रोटरी क्लब अफ तुलसीपुर सिटी र रोट्र्याक्ट क्लब अफ तुलसीपुरको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
रोटरी क्लब अफ तुलसीपुर सिटीका अध्यक्ष सन्दीपन रिजालको अध्यक्षता तथा वडा नम्बर १३ का अध्यक्ष मोहनलाल पौडेल प्रमुख आतिथ्यतामा उक्त शिविर सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै तुलसीपुर सिटी हस्पिटलका प्रबन्ध निर्देशक हेमराज बस्नेतले प्रत्येक वर्ष दुर्गम क्षेत्रमा पुगेर रोग पहिचान गर्नुपर्ने आवश्यकता औँल्याउँदै रोग दबाएर होइन, खुला रूपमा पहिचान गरेर उपचार गर्नु जरुरी रहेको बताए।
तुलसीपुर सिटी हस्पिटलका पूर्व अध्यक्ष विमल रिजालले नागरिकलाई सेवा लिन र स्वास्थ्यप्रति सचेत हुन आग्रह गरे। रेडक्रस सोसाइटी दाङका उपाध्यक्ष हरिहर पौडेलले संस्थाले लामो समयदेखि मानवीय सेवा गर्दै आएको उल्लेख गरे।
रोटरी डिस्ट्रिक्ट ३२९२ का एजी वीरबहादुर रावतले खानेपानी, शिक्षा र स्वास्थ्य क्षेत्रमा सरकारी पहुँच नपुगेका स्थानमा संस्थाहरूले भूमिका खेल्दै आएको बताए। कतिपय रोगहरू घरमै बस्दा लुकेर रहने भएकाले यस्ता शिविरले रोग पहिचानका लागि टाढा जानुपर्ने बाध्यता हटाएको उनको भनाइ थियो।
प्रमुख अतिथि मोहनलाल पौडेलले आर्थिक अवस्था कमजोर भएका तथा लामो समयदेखि उपचार नपाएका नागरिकका लागि सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन गरिएको बताए। उनले रगतको व्यवस्थापन, दमका बिरामीलाई घरमै अक्सिजन पुर्याउनेलगायतका काम भइरहेको जानकारी पनि दिए।
शिविरमा हाडजोर्नी रोग विशेषज्ञ डा. हेमराज शर्मा, बालरोग विशेषज्ञ डा. नबचन्द्र ओली, नाक–कान–घाँटी रोग विशेषज्ञ डा. संजय महर्जन तथा स्त्रीरोग विशेषज्ञ डा. मेलिना हमालले सेवा प्रदान गरेका थिए।
स्वास्थ्य शिविरबाट ४०० भन्दा बढी सेवाग्राही लाभान्वित भएका छन्। वडाध्यक्ष पौडेलका अनुसार हाडजोर्नी सेवाबाट १५० जना, स्त्रीरोग सेवाबाट १०० जना, जनरल स्वास्थ्य सेवाबाट १०० जना, नाक–कान–घाँटी सेवाबाट २५ जना र बालरोग सेवाबाट २५ जनाले उपचार सेवा लिएका छन्।
वक्ताहरूले यस्ता निःशुल्क स्वास्थ्य शिविरले स्थानीय नागरिकको स्वास्थ्य पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको बताउँदै आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस