after_navbar

तुलसीपुर सेन्टरको ५५ औँ वार्षिकोत्सवः शैक्षिक क्षेत्रमा उत्कृष्ट उपलब्धि


माघ १४, २०८२


जाजरकोटदेखि जुम्लासम्मका विद्यार्थीको शैक्षिक केन्द्र

ad

दाङ, १३ माघ । दाङको तुलसीपुरमा रहेको माध्यमिक विद्यालय तुलसीपुर सेन्टरले आफ्नो ५५ औँ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश रावतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा सहभागी वक्ताहरूले मावि तुलसीपुर सेन्टर सामुदायिक विद्यालयप्रतिको सोच बदल्ने बलियो उदाहरण बनेको बताएका थिए। पाँच दशकभन्दा बढी समयदेखि शिक्षा क्षेत्रमा योगदान दिँदै आएको यस विद्यालयले पछिल्लो समय शिक्षामा काँचुली फेर्न सफल भएको भन्दै उनीहरूले प्रशंसा गरे। स्थापनाकालदेखि सिमित स्रोतसाधन र पूर्वाधारको अभावका कारण समस्याग्रस्त रहेको विद्यालय अहिले देशकै उत्कृष्ट ‘मेघा स्कुल’को रूपमा स्थापित भएको उनीहरूको भनाइ थियो।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले शिक्षा जगतमा विद्यालयले अतुलनीय योगदान पु¥याएको बताए। नेतृत्वमा इच्छाशक्ति र सकारात्मक सोच भए सामुदायिक विद्यालय पनि उत्कृष्ट हुन सक्छ भन्ने कुरा विद्यालयले व्यवहारमै प्रमाणित गरेको उनले उल्लेख गरे। सामुदायिक विद्यालयप्रतिको पुरानो सोच बदल्न विद्यालय सफल भएको बताउँदै उनले गुणस्तरीय शिक्षा, मानव विकास र प्राविधिक शिक्षामार्फत श्रमको सम्मान गर्ने संस्कार विकास गर्दै आएको यो विद्यालय आज देशकै नमुना बन्न पुगेको बताए।

कार्यक्रममा पूर्व नगरप्रमुख ढुण्डीराज लामिछानेले विद्यालयको यात्रालाई प्रेरणादायी उदाहरणका रूपमा व्याख्या गरे। “अरूको राम्रो कामको प्रशंसा गर्न सक्ने संस्कार विकास गर्नुपर्छ। असहज परिस्थितिबाट गुज्रिएको विद्यालयले शिक्षामा काँचुली फेर्नु ठूलो उपलब्धि हो,” उनले भने, “स्पष्ट मिसन, भिजन, टिमवर्क र अभिभावकको समन्वय भए शैक्षिक संस्थाले उल्लेखनीय प्रगति गर्न सक्छ भन्ने उदाहरण मावि तुलसीपुर सेन्टर हो।”

कार्यक्रममा नेपाली कांग्रेस तुलसीपुर नगर सभापति सुरेश हमालले पहिले सामुदायिक विद्यालयप्रति आत्मग्लानी महसुस गर्ने अभिभावकहरू अहिले गर्व गर्ने अवस्थामा पुगेको बताए। “पहिले सामुदायिक विद्यालय भन्नासाथ आत्मग्लानी र लाज महसुस हुन्थ्यो, अहिले भने यही विद्यालयप्रति गर्व गर्ने वातावरण बनेको छ,” उनले भने, “सामुदायिक विद्यालयप्रतिको दृष्टिकोण नै बदलिएको छ।”

जाजरकोटदेखि जुम्लासम्मका विद्यार्थीको शैक्षिक केन्द्र: विद्यालयको नेतृत्व, शिक्षकहरूको समर्पण, अभिभावकको विश्वास र समुदायको सहकार्यले मावि तुलसीपुर सेन्टरलाई नयाँ दिशातर्फ डो¥याएको प्रधानाध्यापक भागवत पौडेलले बताए। उनका अनुसार विद्यालय तुलसीपुर उपमहानगरपालिकाका १९ वडाबाट मात्र नभई जाजरकोट, सल्यान, अछाम र जुम्लासम्मका विद्यार्थीहरूको रोजाइमा परेको छ।

उनले विद्यालयमा गुणस्तरीय शिक्षाको माध्यमबाट असल चरित्रवान, संस्कारयुक्त र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित शैक्षिक गतिविधि सञ्चालन भइरहेका बताए। विद्यालयमा अध्ययन गर्ने हरेक बालबालिकालाई पूर्ण मानवको रूपमा विकास गर्ने उद्देश्यअनुसार शिशु कक्षादेखि कक्षा १० सम्म नेपाली र अंग्रेजी दुवै माध्यममा पठनपाठन हुँदै आएको छ भने कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र शिक्षा संकाय सञ्चालनमा छन्।

सामुदायिक विद्यालयमा दुर्लभ मानिने प्राविधिक शिक्षा यस विद्यालयको विशेष पहिचान बनेको उनले बताए। विद्यालयमा कक्षा ९ देखि १२ सम्म इलेक्ट्रिकल इन्जिनियरिङ विषय पढाइ भइरहेको छ भने सूचना प्रविधि र जियोमेटिक्स विषयमा तीन वर्षे डिप्लोमा कार्यक्रम सञ्चालनमा छन्। साथै विभिन्न निःशुल्क प्रि–डिप्लोमा कार्यक्रममार्फत विद्यार्थीलाई सीपमूलक तथा रोजगारीसँग जोडिने शिक्षा प्रदान गरिँदै आएको उनले जानकारी दिए।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष वर्षात भण्डारी, तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रामप्रसाद चालिसे, तुलसीपुर नगर जेसीजका अध्यक्ष कमलप्रकाश शर्मा, लक्ष्मी माविका प्रधानाध्यापक प्रेम वली, मावि बालापुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक केसी, पत्रकार सुशील बस्नेतलगायतले मावि तुलसीपुर सेन्टरले सामुदायिक विद्यालयप्रतिको सोच बदल्न सफल भएको बताएका थिए। उनीहरूले विद्यालयले शिक्षा क्षेत्रमा नयाँ आशा जगाएको उल्लेख गरे। कार्यक्रमको सहजीकरण भोलाप्रसाद पौडेल र मेनुका राजकोटीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="