दाङ, १७माघ । दाङको तुलसीपुरस्थित ज्ञान ज्योति माध्यमिक विद्यालयले जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गरेको छ।
हिसान दाङ र कलेज रिडर्स काठमाडौँको संयुक्त आयोजनामा दाङ जिल्लाका विभिन्न विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान तथा व्यवस्थापन विषय अध्ययन गर्ने विद्यार्थीहरूको सहभागितामा घोराहीस्थित राप्ती इन्जिनियरिङ कलेजमा प्रतियोगिता सम्पन्न भएको हो।
प्रतियोगितामा विज्ञान संकायतर्फ ज्ञान ज्योति माध्यमिक विद्यालयका विविध सेजुवाल, अनिता कवर योगी र मिलन पुन मगरको टिम प्रथम हुन सफल भएको छ। त्यस्तै, व्यवस्थापन संकायतर्फ रिता गौतम, भूपेन्द्र बिष्ट र मनिषा बुढाथोकीको टिमले प्रथम स्थान हासिल गरेको छ।
विज्ञान र व्यवस्थापन दुवै संकायतर्फ प्रथम स्थान हासिल गरेको ज्ञान ज्योति माध्यमिक विद्यालयको टिमले नगद १५ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ। विद्यालयले गत वर्ष पनि सोही प्रतियोगितामा प्रथम स्थान हासिल गरेको थियो।
कार्यक्रम हिसान दाङका अध्यक्ष सुरेन्द्र जिसीको अध्यक्षतामा तथा राप्ती इन्जिनियरिङ कलेजका निर्देशक डा. शैलेन्द्र गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रममा कलेज रिडर्सका सीईओ जितेन्द्र घिमिरे, शैक्षिक अभियन्ता तथा मानवअधिकारकर्मी प्रमोद कुमार न्यौपाने र कलेज रिडर्सका सम्पादक केशव नेपालले मन्तव्य राखेका थिए।
प्रतिक्रिया दिनुहोस