दाङ ,२५ माघ । आइसिसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाललाई जितका लागि इङ्ल्यान्डले १८५ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।
मुम्बईस्थित वानखेडे स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८४ रन बनायो।
इङ्ल्यान्डका लागि ज्याकोब वेथे र कप्तान ह्यारी ब्रुकले अर्धशतकीय इनिङ्स खेले। वेथेले ३५ बलमा चार चौका र चार छक्कासहित सर्वाधिक ५५ रन बनाए। यस्तै कप्तान ब्रुकले ३२ बलमा चार चौका र तीन छक्काको सहयोगमा ५३ रन जोडे।
ओपनर जोस बट्लरले २६ रन बनाउँदा विल ज्याक्सले अविजित ३९ रनको योगदान दिए। अर्का ओपनर फिल साल्टले एक रन मात्र बनाउन सके भने टोम ब्यान्टोम र स्याम करन दुई–दुई रनमै आउट भए। जोफ्रा आर्चर एक रनमा रनआउट भए।
बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले दुई–दुई विकेट लिए भने सन्दीप लामिछाने र शेर मल्लले एक–एक विकेट झारे।
यस खेलसँगै शेर मल्लसहित आरिफ शेख, लोकेश बम र नन्दन यादवले टी–२० विश्वकपमा डेब्यु गरेका छन्। नेपालले टेस्ट राष्ट्र इङ्ल्यान्डसँग पहिलो पटक टी–२० अन्तर्राष्ट्रिय खेल खेलेको हो।
नेपाल आज इङ्ल्यान्डविरुद्ध चमत्कारिक जित निकाल्दै विश्वकपमा सुखद सुरुवात गर्ने लक्ष्यमा छ।
नेपाल समूह ‘सी’ मा रहेको छ। यस समूहमा इङ्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र स्कटल्यान्ड छन्। भारतसँगको विवादका कारण बङ्गलादेशले विश्वकप नखेल्ने निर्णय गरेपछि आइसिसीले वरीयताका आधारमा स्कटल्यान्डलाई मौका दिएको हो। इटालीले भने पहिलो पटक क्रिकेट विश्वकप खेल्दैछ।
नेपालले समूह चरणको दोस्रो खेल माघ २९ गते इटालीसँग, फागुन ३ गते वेस्ट इन्डिजसँग र फागुन ५ गते स्कटल्यान्डसँग खेल्नेछ। समूह चरणका सबै खेल नेपालले मुम्बईस्थित वानखेडे स्टेडियममै खेल्नेछ।
नेपालले समग्रमा तेस्रो तथा लगातार दोस्रो पटक टी–२० विश्वकप खेल्न लागेको हो। यसअघि नेपालले सन् २०१४ र सन् २०२४ को संस्करणमा सहभागिता जनाएको थियो।
प्रतिक्रिया दिनुहोस