काठमाडौँ,९ चैत। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ३ किलो ४३५ ग्राम गाँजासहित सोमबार एक थाई नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बैंककबाट काठमाडौं आएका ३९ वर्षीय योङयुट थुइओन रहेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेका अनुसार थाई एअरलाइन्सको उडान नम्बर TG–309 बाट आएका उनले आफ्नो सुटकेसभित्र प्रतिबन्धित लागुऔषध लुकाएर ल्याएका थिए। “आगमन टनेल गेटमा जाँच गर्ने क्रममा उनको साथबाट गाँजाजस्तो देखिने पदार्थ बरामद गरिएको हो,” उनले भने।
पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वर पठाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस