काठमाडौ,१५ चैत । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको अविलम्ब रिहाइको माग गर्दै नेकपा एमाले ताप्लेजुङले सरकारलाई ज्ञापनपत्र बुझाएको छ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँमार्फत नेपाल सरकारलाई उक्त ज्ञापनपत्र बुझाइएको कार्यवाहक अध्यक्ष दीपेन्द्र पोमू (दीपेन)ले जानकारी दिएका छन्।
ज्ञापनपत्रमा नवगठित सरकारले ‘कथित कार्की आयोग’को प्रतिशोधात्मक र अपूर्ण प्रतिवेदनका आधारमा ओली र लेखकसहितका नेताहरूलाई पक्राउ गरी मुलुकलाई द्वन्द्वतर्फ धकेल्न खोजेको आरोप लगाइएको छ।
जेनजी आन्दोलनलाई योजनाबद्ध रूपमा दुरुपयोग गरी असंवैधानिक बाटोबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारद्वारा गठित आयोगको प्रतिवेदनका आधारमा गरिएको धरपकड प्रतिशोधपूर्ण भएको दाबी गरिएको छ।
एमाले ताप्लेजुङले नेताहरूमाथि गरिएको दमन र धरपकडको निन्दा गर्दै तत्काल रिहाइको माग गरेको छ।
पालिकास्तरीय कमिटीहरूले समेत ओली र लेखकको पक्राउविरुद्ध विज्ञप्ति जारी गर्दै विरोध जनाएका छन्।
कार्यवाहक अध्यक्ष पोमूले थप आन्दोलनका कार्यक्रम र रणनीति तय गर्न आन्तरिक छलफल सुरु गरिएको बताएका छन्।
प्रतिक्रिया दिनुहोस