दाङ,१६ चैत । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशरण चौधरीसहित तीन जनाविरुद्ध सामूहिक बलात्कारको आरोपमा मुद्दा दर्ता भएको छ।
जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले ‘भैरहवा–१५’ बस्ने एक युवतीमाथि भएको भनिएको बलात्कार प्रकरणमा उनीहरूमाथि अभियोग दर्ता गरेको हो।
यस प्रकरणमा कमलेशरण चौधरीसँगै राजेश्वर चौधरी र सन्तकुमार यादवविरुद्ध पनि मुद्दा चलाइएको छ। यादव हाल थुनछेकका लागि रुपन्देही कारागारमा रहेका छन्।
पीडितका अनुसार २०८१ असोज ६ गते भएको घटनामा उनीहरूको संलग्नता रहेको भन्दै किटानी जाहेरी दर्ता गरिएको थियो।
यसअघि पूरक जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय बुटवलले मुद्दा अघि नबढाएपछि पीडितले अदालतमा रिट दायर गरेकी थिइन्। त्यसपछि अदालतको आदेशअनुसार अनुसन्धान प्रक्रिया अघि बढाइएको हो।
उता, अध्यक्ष चौधरीले भने आफू निर्दोष रहेको दाबी गर्दै कानुनी प्रक्रियामार्फत सत्य बाहिर आउने बताएका छन्।
एक पारिवारिक विवादका कारण आफूलाई योजनाबद्ध रूपमा फसाइएको दाबी गर्दै उनले चरित्रहत्या र ज्यानको जोखिमसमेत रहेको गुनासो गरेका छन्।
‘दोषी ठहरिए सजाय भोग्न तयार छु, तर निर्दोष भए फसाउनेलाई कारबाही हुनुपर्छ,’ उनले भने।
प्रतिक्रिया दिनुहोस