दर्शन आचार्य। दाङ, १८ चैत्र । थारु समुदायका लोपोन्मुख परम्परागत तथा रैथाने खानाको संरक्षण, प्रवर्द्धन र व्यवसायीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको तीनदिने तालिम बुधबार सम्पन्न भएको छ। पर्यटन डिभिजन कार्यालय, कोहलपुरको आयोजनामा तथा थारु सांस्कृतिक संरक्षण केन्द्र, चखौराको सहकार्य तथा व्यवस्थापनमा उक्त तालिम चैत्र १६ देखि १८ गतेसम्म दंगीशरण गाउँपालिका–३, चखौरामा सञ्चालन गरिएको थियो।
तालिममा दाङ जिल्लाका थारु समुदायका करिब ४० जना महिलाहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूलाई परम्परागत थारु परिकार तयार गर्ने सीप, संरक्षणका उपाय, आधुनिक प्रस्तुतीकरण तथा व्यावसायिक सम्भावनाबारे व्यावहारिक प्रशिक्षण प्रदान गरिएको आयोजकले जनाएको छ।
तालिमको समापन समारोहमा सहभागीहरूले आफूहरूले तयार गरेका करिब ४० प्रकारका परिकारको आकर्षक स्टलमार्फत प्रदर्शनी गरेका थिए। कार्यक्रममा उपस्थित अतिथिहरूले परिकारहरूको निरीक्षण गर्नुका साथै स्वाद परीक्षण गर्दै गुणस्तर, प्रस्तुतीकरण र बजार सम्भावनाबारे सुझाव दिएका थिए।
समापन कार्यक्रममा लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर, पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का लगायत उच्च सरकारी अधिकारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
त्यसैगरी, निमित्त प्रमुख जिल्ला अधिकारी सावित्रा पुन, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख होमबहादुर पराजुली, पर्यटन डिभिजन कार्यालय बाँकेका प्रशासन प्रमुख कृष्ण विष्ट, खाद्य तथा गुण नियन्त्रण विभागका प्रतिनिधि, उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजाल तथा वर्तमान अध्यक्ष विनिल के.सी., नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, पत्रकारहरू सुशील बस्नेत र नारायणी रजौरे लगायतको पनि उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रदेश प्रमुख घर्तीमगरले थारु समुदायका परम्परागत परिकारहरू नेपालको महत्वपूर्ण सांस्कृतिक सम्पदा भएको उल्लेख गर्दै तिनलाई पर्यटनसँग जोड्न सके स्थानीय आर्थिक विकासमा ठूलो टेवा पुग्ने बताए। उनले स्थानीय उत्पादनमा आधारित यस्ता परिकार स्वास्थ्यका दृष्टिले समेत उपयोगी रहेको धारणा राखे।
पूर्व मुख्यमन्त्री चौधरीले आधुनिक जीवनशैलीका कारण परम्परागत खानाहरू हराउँदै जाने खतरा बढेको उल्लेख गर्दै यस्ता तालिमले नयाँ पुस्तामा सीप हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
स्थानीय तहका जनप्रतिनिधिहरूले तालिमबाट सिकेका सीपलाई व्यवहारमा उतार्दै उद्यमशीलता विकास गर्न सहभागीहरूलाई आग्रह गरेका थिए। थारु परिकारलाई होमस्टे, होटल तथा पर्यटकीय गन्तव्यसँग जोडेर आम्दानीको दिगो स्रोत बनाउन सकिने सम्भावना औंल्याइएको थियो।
यसैबीच, सहभागी (प्रशिक्षार्थी)हरूले पनि तालिमबाट सिकेको सीपलाई व्यवहारमा लागू गर्दै आयआर्जनसँग जोड्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले परम्परागत परिकारलाई व्यवसायका रूपमा अघि बढाउँदै आत्मनिर्भर बन्ने लक्ष्य रहेको बताएका थिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस