काठमाडौँ,२० चैत । निर्वाचन आयोगले चुनावसँग सम्बन्धित जिज्ञासा सम्बोधन गर्न सञ्चालनमा ल्याएको ‘कल सेन्टर’मा चार हजारभन्दा बढी प्रश्नको उत्तर दिइएको जनाएको छ।
आयोगका अनुसार गत माघ ५ गतेदेखि सञ्चालनमा आएको उक्त सेवामार्फत बिहीबारसम्म टेलिफोन र भ्वाइस मेल गरी कुल ४ हजार ३८ जिज्ञासा सम्बोधन गरिएको छ। प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार तीमध्ये मतदाता नामावलीसँग सम्बन्धित १ हजार ९ सय ५८, निर्वाचन आचारसंहितासम्बन्धी ३ सय ८६, मतदाता शिक्षासम्बन्धी १ सय ५७ र अन्य १ हजार १ सय ११ जिज्ञासा रहेका छन्। कुल जिज्ञासामध्ये ४ सय २६ ‘भ्वाइस मेल’ रहेका छन्।
आयोगले मतदाता शिक्षालाई प्रभावकारी बनाउन फागुन ३ गतेदेखि १७ गतेसम्म देशभरका सबै वडामा स्वयंसेवक परिचालन गरी घरदैलोमै पुगेर मतदान प्रक्रिया र मताधिकारको महत्वबारे जानकारी दिइरहेको जनाएको छ।
त्यसैगरी, विद्युतीय माध्यमबाट मतदाता शिक्षा प्रवर्द्धन गर्न आयोगले ४ सय ७० वटा सामग्री तयार गरी आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ। यस्ता सामग्रीले चुनावबारे सही सूचना प्रवाह गर्न तथा भ्रमपूर्ण जानकारी न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास आयोगले लिएको छ।
आयोगका अनुसार चुनावका लागि आवश्यक मतपत्र तथा सामग्री सातै प्रदेशका सबै जिल्लामा पुर्याइसकिएको छ। साथै, १ लाख ८६ हजार ७४ अस्थायी मतदाता कायम गरिएको र उनीहरूका लागि देशभर १ सय ४३ अस्थायी मतदान केन्द्र तोकिएको छ।
प्रतिक्रिया दिनुहोस