काठमाडौ,९वैशाख। गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै प्रदर्शन गर्ने क्रममा पक्राउ परेका विद्यार्थी नेताहरूलाई तत्काल रिहा गर्न नेपाली कांग्रेसले माग गरेको छ।कांग्रेसका प्रवक्ता देवराज चालिसेले बुधबार विज्ञप्ति जारी गर्दै पक्राउ परेका नेपाल विद्यार्थी संघका नेताहरूलाई बिना शर्त रिहा गर्न र नागरिकको मौलिक अधिकारमाथि हस्तक्षेप नगर्न सरकारलाई आग्रह गरेका हुन्।
गुरुङको राजीनामा माग गर्दै गरिएको प्रदर्शनका क्रममा नेविसंघका केन्द्रीय सदस्य भुवन भट्टसहित कुम्भराज देउवा, नवीन विष्ट, आकाश देवकोटा, शुशील ऐडी र विशाल बिसी पक्राउ परेका थिए।कांग्रेसले असहमतिलाई नियन्त्रण गर्ने र दमन गर्ने सरकारको शैली लोकतान्त्रिक मूल्य र संविधानको मर्मविपरीत भएको जनाएको छ।
विज्ञप्तिमा लोकतान्त्रिक व्यवस्थामा अभिव्यक्ति स्वतन्त्रता, शान्तिपूर्ण प्रदर्शन र विरोध जनाउने अधिकार नागरिकका मौलिक अधिकार भएको उल्लेख गर्दै त्यस्ता अधिकारको सम्मान र संरक्षण गर्न राज्य बाध्य हुने बताइएको छ। कांग्रेसले असहमति र विरोधलाई दमन गर्ने होइन, संवादमार्फत समाधान गर्नुपर्नेमा जोड दिएको छ।
प्रतिक्रिया दिनुहोस