after_navbar

युक्रेन र रूसबीच १९३ युद्धबन्दी साटासाट


बैशाख १२, २०८३


काठमाडौ,१२ वैशाख। लामो समयदेखि युद्धमा रहेका युक्रेन र रूसबीच शुक्रबार ठूलो संख्यामा युद्धबन्दीहरूको आदानप्रदान गरिएको छ। दुवै पक्षले आफ्नो नियन्त्रणमा रहेका १९३–१९३ जना सैनिक तथा सुरक्षाकर्मीलाई रिहा गरेका छन्। यस मानवीय पहलमा संयुक्त राज्य अमेरिका र संयुक्त अरब इमिरेट्सले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत आफ्ना नागरिक स्वदेश फर्किएकोमा खुसी व्यक्त गर्दै यस प्रक्रियालाई निकै महत्वपूर्ण बताएका छन्। उनका अनुसार फर्किएकामध्ये सेना, सीमा सुरक्षा गार्ड र प्रहरी अधिकारीहरू छन्, जसमा केही घाइते पनि रहेका छन् भने केहीले रूसमा मुद्दासमेत खेपेका थिए।

युक्रेनका गुप्तचर प्रमुख किरिलो बुडानोभ र रूसी रक्षा मन्त्रालयले पनि यस जटिल प्रक्रियामा अमेरिका र यूएईको सहयोग रहेको स्वीकार गरेका छन्।

रिहा भएर फर्किएका कैदीहरू निकै भावुक देखिएका थिए। बसबाट ओर्लँदै गर्दा धेरैले आफ्नो देशको झण्डा ओढेका थिए र खुशीका आँसु झारेका थिए। तीन वर्षसम्म रूसी नियन्त्रणमा रहेका एक सैनिकले स्वदेश फर्किनु अझै विश्वास नलागेको प्रतिक्रिया दिएका छन्।

चार वर्षदेखि जारी यस युद्धमा दुवै देशबीच पटक–पटक युद्धबन्दी साटासाट हुँदै आएको छ। यसअघि पनि हजारौँको संख्यामा बन्दीहरू आदानप्रदान भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस

data-href="