after_navbar

विद्यालय शिक्षा सुधारमा सहकार्य गर्न फिनल्यान्डलाई मन्त्री सस्मितको प्रस्ताव


बैशाख १७, २०८३


काठमाडौ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य विस्तारको प्रस्ताव गरेको छ । बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल र नेपालका लागि फिनल्यान्डका राजदूत पेट्री पुहाक्काबीच भएको भेटमा विद्यालय शिक्षा सुधारको विषयमा चासो देखिाइएको हो ।


भेटका क्रममा मन्त्री पोखरेलले फिनल्यान्डसँग शिक्षा क्षेत्रमा सहकार्य गर्ने प्रस्ताव राख्दै नेपालको विद्यालय शिक्षा सुधार र गुणस्तर अभिवृद्धिमा गम्भीर चासो रहेको बताए। उनले फिनल्यान्डको शिक्षा प्रणाली विश्वमै उत्कृष्ट मानिने उल्लेख गर्दै नेपालको विकासमा फिनल्यान्डले पुर्‍याएको योगदानप्रति धन्यवाद व्यक्त गरे।

मन्त्री पोखरेलले सरकारका प्राथमिकता, आगामी योजना तथा कार्यक्रमबारे जानकारी गराउँदै शिक्षा क्षेत्रमा भइरहेको सहयोगको सराहना गर्दै भविष्यमा पनि निरन्तर सहकार्यको अपेक्षा व्यक्त गरे। भेटमा द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालन तथा शिक्षा क्षेत्रमा साझेदारी विस्तारका विषयमा छलफल भएको थियो।

सो अवसरमा राजदूत पुहाक्काले नेपालको शिक्षा क्षेत्रमा आगामी पाँच वर्षसम्म सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे। हाल फिनल्यान्डको सहयोगमा विद्यालय शिक्षा क्षेत्र कार्यक्रम र ‘टिचर्स एजुकेशन’ परियोजना सञ्चालनमा रहेका छन्।

नेपाल सरकारले अटिजम विद्यालय स्थापना गर्ने नीति अघि सारेको सन्दर्भमा राजदूत पुहाक्काले फिनल्यान्डको अटिजम तथा समावेशी शिक्षामा रहेको विशेषज्ञता प्रयोग गरी सहयोग गर्न इच्छुक रहेको बताए।

यस्तै, सरकारको प्राथमिकतामा रहेको डिजिटल रूपान्तरण (डिजिटल ट्रान्सफरमेसन) अभियानमा समेत फिनल्यान्डले आफ्नो अनुभवका आधारमा सहयोग गर्न चाहेको उनले उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस

data-href="