after_navbar

सुकुम्बासीमाथिको डोजर आतंक बन्द गर: नेकपा माओवादी दाङ


बैशाख २०, २०८३


दाङ, २० वैशाख। नेपाल कम्युनिस्ट पार्टी (माओवादी) दाङले सुकुम्बासी बस्तीमाथि भइरहेको डोजर आतंकको विरोध गरेको छ।पार्टीको जिल्ला समितिले जारी गरेको वक्तव्यमा वैकल्पिक व्यवस्था नगरी घर भत्काउने कार्यले न्यूनतम मानवीय अधिकारसमेत उल्लङ्घन गरेको आरोप लगाइएको छ।

देशका विभिन्न स्थानमा सुकुम्बासी बस्तीमा डोजर चलाउने क्रम बढ्दै गएको र त्यसकै प्रभाव दाङमा पनि पर्ने भन्दै सर्वसाधारणमा त्रास फैलिएको उल्लेख गरिएको छ। यस्तो अवस्थामा नागरिकहरू आफ्नो बसोबास जोगाउन संघर्षमा उत्रिन बाध्य हुने स्थिति आएको पार्टीको भनाइ छ।

पार्टीले भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी तथा गरिब किसानको जमिन र आवास सुनिश्चित नगरी कुनै पनि बहानामा जबर्जस्ती विस्थापन नगर्न सरकारलाई चेतावनी दिएको छ।

साथै, लामो समयदेखि भोगचलन गर्दै आएका जग्गामा प्रमाणका आधारमा स्वामित्व दिनुपर्ने माग पनि गरिएको छ। स्थानीय सरकारलाई सुकुम्बासीको पक्षमा उभिन आग्रह गर्दै पार्टीले उनीहरूको न्यायपूर्ण संघर्षमा पूर्ण समर्थन रहने जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="