काठमाडौ,२१ वैशाख । वैदेशिक रोजगारीका लागि २२ महिनाअघि यूएई पुगेकी काभ्रेपलाञ्चोककी रमिता रमतेल अनेकौँ दुःख, यातना र ठगीको शिकार बनेर अन्ततः स्वदेश फर्किएकी छन्।
घरेलु कामदारका रूपमा दुबई पुगेकी रमिताले घरधनीबाट सहन नसकिने मानसिक यातना भोग्नुपरेपछि त्यहाँबाट भाग्न बाध्य भएकी थिइन्। तर, घरबाट भागेपछि सहयोग पाउने आशामा परेकी उनी उल्टै नक्कली संस्थाको ठगी जालमा फसिन्।
घर छोडेपछि तीन दिनसम्म खुला आकाशमुनि भोकै बस्नुपरेकी रमितालाई केही व्यक्तिहरूले आफूलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधि भन्दै सम्पर्क गरेका थिए। उनीहरूले नेपाल फर्काइदिने र कानुनी प्रक्रिया मिलाइदिने बहानामा रमिताको परिवारबाट १ लाख ४० हजार रुपैयाँ असुलेका थिए।
नक्कली एनआरएनएको आवरणमा ठगी गर्ने ती समूहले उनलाई झन्डै १९ महिनासम्म झुलाएर राखेको एनआरएनएका केन्द्रीय उपाध्यक्ष मनोज गोर्खालीले बताएका छन्। उनीहरूले नक्कली टिकट र कागजात बनाएर पटक–पटक एयरपोर्ट पुर्याएर फर्काउने गर्दै रमितामाथि थप मानसिक यातना दिएका थिए।
लामो समयसम्म न घरको न घाटको अवस्थामा रहेकी रमिता अन्ततः वास्तविक गैरआवासीय नेपाली संघ (यूएई) को सम्पर्कमा पुगेकी थिइन्। त्यसपछि एनआरएनए यूएईले सक्रियता देखाउँदै केवल ११ दिनमै उनको सम्पूर्ण कानुनी तथा कागजी प्रक्रिया पूरा गरिदिएको थियो।
रमितालाई सुरक्षित रूपमा स्वदेश फर्काउन एनआरएनए यूएईका अध्यक्ष भीम मल्ल ठकुरी, सचिव सबिन योन्जन, सदस्य विजय श्रेष्ठ तथा सिन्धुपाल्चोक तामाङ समाजका महासचिव राम तामाङले महत्वपूर्ण भूमिका खेलेका थिए
प्रतिक्रिया दिनुहोस