after_navbar

मनसुन सुरु हुनुअघि सेनाको उच्च सतर्कता


जेठ ०७, २०८३


काठमाडौ,७ जेठ । नेपाली सेनाले मनसुनजन्य विपद् व्यवस्थापनका लागि पूर्वतयारी योजना बनाएर कार्यान्वयनमा ल्याएको छ।

सेनाले विगतका अनुभवका आधारमा यस वर्ष बाढी, पहिरो लगायतका विपद्का लागि आवश्यक जनशक्ति र उपकरण तयारी अवस्थामा राखेको जनाएको छ। जिल्लास्थित गण तथा गुल्ममा फौज तयारी अवस्थामा राखिएको छ भने प्रदेशका पृतनामा विशेष खोज तथा उद्धार टोली तैनाथ गरिएको छ।

दुर्गम क्षेत्रमा उद्धारका लागि हेलिकप्टरसमेत तयारी अवस्थामा राखिएको छ। काठमाडौँसँगै सुर्खेत र इटहरीमा पनि हेलिकप्टर ‘स्ट्यान्डबाई’ राखिएको सेनाले जनाएको छ।

राजमार्ग अवरुद्ध भएमा तत्काल सञ्चालन गर्न धादिङ, चितवन र बारामा बेलिब्रिज तयारी अवस्थामा राखिएको छ। साथै, आवश्यक परे भारी उपकरण प्रयोग गरेर सडक खुलाउने व्यवस्था पनि मिलाइएको छ।

घाइते र प्रभावित नागरिकलाई उपचार गर्न सैनिक अस्पतालका चिकित्सक टोली पनि तयारी अवस्थामा राखिएको छ। औषधि, खाद्यान्न र राहत सामग्री पनि व्यवस्थापन गरिएको छ। विपद् व्यवस्थापनमा संघ, प्रदेश, स्थानीय तह, सुरक्षा निकाय र समुदायसँग मिलेर काम गर्ने सेनाको योजना छ।

सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार मनसुनका बेला हुने जोखिम घटाउन सबै तयारी गरिएको र आवश्यक परे तुरुन्त परिचालन गरिनेछ। सेनाले यस्तो तयारीले विपद्को समयमा जनधनको क्षति कम गर्न सहयोग पुग्ने विश्वास लिएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="