दाङ,१० जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बेलायत सरकारकी इन्डोप्यासिफिक मामिलामन्त्री सीमा मल्होत्रासंग शिष्टाचार भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल र बेलायतबीचको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्ध, विकास साझेदारी र लुम्बिनी प्रदेशको विकासका प्राथमिकताबारे छलफल भएको छ। मुख्यमन्त्री आचार्यले प्रदेश सरकार दिगो, समावेशी र रोजगारमुखी आर्थिक वृद्धिमा केन्द्रित रहेको बताए।
उनले उत्पादनमुखी लगानी, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन, औद्योगिक विस्तार, पूर्वाधार निर्माण र डिजिटल नवप्रवर्तनमार्फत प्रदेशको अर्थतन्त्र रूपान्तरण गर्ने लक्ष्य रहेको जानकारी दिए।
आचार्यले बुद्ध जन्मस्थल लुम्बिनीले विश्वलाई शान्ति र सहिष्णुताको सन्देश दिएको उल्लेख गर्दै पर्यटन, लगानी र मानव पुँजी विकासमा बेलायतसँग थप सहकार्य हुने विश्वास व्यक्त गरे।
भेटमा मानव पुँजी विकास, सिप अभिवृद्धि, स्वास्थ्य प्रणाली सुदृढीकरण, जलवायु परिवर्तन अनुकूलन, कृषि रूपान्तरण, दिगो पूर्वाधार र सुशासनका क्षेत्रमा सहकार्यबारे पनि छलफल भएको थियो।
त्यस अवसरमा बेलायती मन्त्री मल्होत्राले लुम्बिनीको विकासबाट नेपालले ठूलो लाभ लिन सक्ने बताउँदै आवश्यक सहयोग र सहकार्य गर्न बेलायत सरकार प्रतिबद्ध रहेको जानकारी दिइन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस