हुम्ला,१३ जेठ। बाढीपहिरोका कारण विद्यालय भवनमा क्षति पुगेपछि हुम्लाको चङ्खेली गाउँपालिका–५ स्थित डाँफे आधारभूत विद्यालयका विद्यार्थी खुला चौरमा बसेर पढ्न बाध्य भएका छन्।
गत जेठ ५ गते आएको हावाहुरीसहितको वर्षा र बाढीले विद्यालय भवन पूर्ण रूपमा भत्काएपछि यहाँ अध्ययनरत करिब ८० जना बालबालिकालाई नजिकैको सामुदायिक भवन आसपासको खुला स्थानमा पठनपाठन गराइएको छ।
एक हप्तादेखि खुला आकाशमुनि जोखिमपूर्ण अवस्थामा कक्षा सञ्चालन भइरहेको छ। लामो समय खुला चौरमा बस्नुपर्दा केही विद्यार्थी बिरामीसमेत परेका छन्।
विद्यालयका प्रधानाध्यापक बली तामाङका अनुसार भवन बगाएपछि विद्यालयको अवस्था अस्तव्यस्त बनेको छ। उनले आवश्यक शैक्षिक सामग्री अभावका कारण पठनपाठन प्रभावित भएको बताए।
बाढीले विद्यालयका सात कम्प्युटर, दुई ल्यापटप, २० कुर्सी, ८० बेन्च, सात दराज, दुई दर्जनभन्दा बढी टेबल, सेतो बोर्ड, चार खाट, खानेपानी ट्याङ्की तथा धारा समेत नष्ट गरेको छ।
प्रधानाध्यापक तामाङले तत्काल वैकल्पिक व्यवस्था मिलाउन स्थानीय तह र सम्बन्धित निकायसँग आग्रह गरेका छन्। साथै जिल्ला विपत् व्यवस्थापन समितिमार्फत आवश्यक पहल गर्न समेत अनुरोध गरिएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस