दाङ,१९ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिकाले वडा नं. १५ दक्षिण कुररियामा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति दिएको छ।
थारू समुदायको बाहुल्यता रहेको जिल्लामा मातृभाषामा शिक्षा दिन यो निर्णय गरिएको नगरप्रमुख टीकाराम खड्काले बताए। विद्यालय गुठीका रूपमा सञ्चालन हुने जनाइएको छ। तीन वर्षअघि स्थानीय रोहित चौधरीले दिएको निवेदनका आधारमा उपमहानगरपालिकाको ४७औँ कार्यपालिका बैठकले यो निर्णय गरेको हो।
जिल्लामा अहिलेसम्म थारू समुदायका लागि छुट्टै विद्यालय सञ्चालनमा थिएन। उपमहानगरपालिकाले विद्यालयका लागि स्वयंसेवक शिक्षकसमेत उपलब्ध गराउने जनाएको छ।
नगरप्रमुख खड्काका अनुसार आवश्यक परे विद्यालयलाई आवासीय बनाउन पनि सकिनेछ। यो अभ्यास देशमै नयाँ भएको उनको भनाइ छ।
राष्ट्रिय जनगणना २०७८ अनुसार तुलसीपुरमा करिब २१ प्रतिशत थारू समुदायको बसोबास छ। यसअघि वीरेन्द्र मावि भ्यूडहर सुनपुरमा मगर भाषाको कक्षा सञ्चालनमा थियो। स्थानीय पाठ्यक्रममार्फत पनि भाषागत कक्षा सञ्चालन गर्न सकिने शिक्षा शाखा प्रमुख चक्र भण्डारीले बताएका छन्।
प्रतिक्रिया दिनुहोस