प्यूठान,२३ जेठ । चार वर्षअघि सासुको हत्या गरेको आरोपमा एक बुहारीलाई पूर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत प्यूठानले आदेश दिएको छ।
जिल्ला अदालत प्यूठानका न्यायाधीश हिरन्ने भण्डारीको इजलासले ३२ वर्षीया चेती सुनारलाई जेठ १९ गते पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। अदालतको आदेशपछि सोही दिन उनलाई जिल्ला कारागार पठाइएको जिल्ला अदालत प्यूठानले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार २०७९ मंसिर १ गते स्वर्गद्वारी नगरपालिका–६ डाँडाखर्ककी ६३ वर्षीया धनीकुमारी सुनारको हत्या भएको थियो।
प्यारालाइसिसबाट ग्रसित धनीकुमारी टाउकोमा गम्भीर चोट लागेको अवस्थामा स्थानीय भुपाल घर्तीको बारीमा मृत फेला परेकी थिइन्। उनी नजिकै छुट्टै कटेरोमा एक्लै बस्दै आएकी थिइन्।
अनुसन्धानका क्रममा सासुको रेखदेख तथा औषधि उपचार गर्दै आएकी बुहारीले नै हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।
घटनापछि फरार रहेकी चेती सुनारलाई प्रहरीले गत वैशाख २३ गते पक्राउ गरेको थियो।
प्रतिक्रिया दिनुहोस