दाङ, २६ जेठ । भारतीय नागरिकलाई गैरकानुनी रूपमा नेपाली नागरिकता दिलाउन संलग्न रहेको आरोपमा एक वडाध्यक्षसहित चार जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा राजपुर गाउँपालिका–४ का वडाध्यक्ष ६५ वर्षीय रामेश्वर अहिर, सोही वडाका सचिव तथा स्थानीय पञ्जिकाअधिकारी ४७ वर्षीय राजेशकुमार कहर, कार्यालय सहायक ३४ वर्षीया मीना चौधरी र ४५ वर्षीय आलम जोल्दा रहेका छन्।
जिल्ला अदालतले सोमबार उनीहरूलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। यस प्रकरणमा इलाका प्रशासन कार्यालय लमहीका तत्कालीन प्रमुख प्रेमबहादुर खवास र भारतीय नागरिक आयशा जोल्दाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको छ, तर उनीहरू हाल फरार छन्।
प्रहरीका अनुसार आलम जोल्दाले २०७५ कात्तिक २८ गते वंशजका आधारमा नागरिकता लिएको देखिएको छ, जसमा तत्कालीन कार्यालय प्रमुख खवासको हस्ताक्षर रहेको छ। अनुसन्धानका क्रममा बाबुको मृत्यु मितिसम्बन्धी विवरणमा सरकारी अभिलेख र नागरिकतामा फरक पाइएपछि शंकास्पद देखिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्राचारका आधारमा प्रहरीले अनुसन्धान अघि बढाउँदै वडाध्यक्षसहित चार जनालाई पक्राउ गरेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस