दाङ,२ असार। लुम्बिनी प्रदेश सरकारले तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको स्तरोन्नतिका लागि चार करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत बजेटमा अस्पताललाई २०० शैयाको बनाउने लक्ष्यसहित स्तरोन्नतिको कार्यक्रम समेटिएको हो।
यस्तै तुलसीपुर उपमहानगरपालिका–११ सकौरास्थित ऐतिहासिक दंगीशरण थारु राजाको दरबार क्षेत्रको संरक्षण तथा विकासका लागि पनि चार करोड रुपैयाँ बजेट छुट्याइएको छ। उक्त बजेटबाट पर्यटकीय पूर्वाधार निर्माण र थारु संग्रहालय स्थापना गर्ने योजना रहेको छ।
प्रदेश सरकारले बालविवाह न्यूनीकरण तथा नियन्त्रणका लागि प्रदेशका १२ जिल्लाका १०९ स्थानीय तहमा कार्यान्वयन हुने गरी १० करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
यसैगरी घोराहीस्थित प्याराडाइज बोटानिकल उद्यान र रुटाहा ताल क्षेत्रको विकास तथा प्रवर्द्धनका लागि ११ करोड रुपैयाँ छुट्याइएको छ।
दाङ–देउखुरी क्षेत्रमा रहेको प्रगन्ना सिँचाइ कुलोलगायत सिँचाइ प्रणालीको सुदृढीकरण र व्यवस्थापनका लागि १५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।
प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी) को निर्माण कार्यलाई तीव्रता दिँदै आगामी आर्थिक वर्षभित्र दोस्रो चरणको काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ। राजधानीभित्र आवश्यक पूर्वाधार, सडक र फोहर व्यवस्थापनका लागि पनि बजेट व्यवस्था गरिएको बजेट वक्तव्यमा उल्लेख गरिएको छ।
प्रतिक्रिया दिनुहोस