काठमाडौ,३ असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशन नजिकिँदै गर्दा केन्द्रीय समितिमा उम्मेदवार बन्नेहरूका लागि शुल्क निर्धारण गरेको छ, जसले पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा थप सक्रिय हुने संकेत देखाएको छ।
पार्टीका अनुसार सभापति पदका लागि उम्मेदवार बन्न ५१ हजार रुपैयाँ शुल्क तोकिएको छ भने उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि ४१ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ। त्यस्तै, केन्द्रीय सदस्य पदका उम्मेदवारले २१ हजार रुपैयाँ बुझाउनुपर्नेछ।
रास्वपाको विधानअनुसार एक महिला सहित तीन उपसभापति, दुई महामन्त्री र एक महिला सहित चार सहमहामन्त्री रहने व्यवस्था छ। साथै, कोषाध्यक्ष, सहकोषाध्यक्ष र प्रवक्ता एक एक जना तथा सहप्रवक्ता तीन जना मनोनित गरिनेछन्।
विधानअनुसार ९९ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् भने २२ जना सभापतिबाट मनोनित हुने व्यवस्था छ। सातै प्रदेशका सभापतिहरू केन्द्रीय समितिको पदेन सदस्य रहनेछन्।
रास्वपाले आगामी सोमबारदेखि बुधबारसम्म चितवनमा पहिलो महाधिवेशन आयोजना गर्ने तयारी गरेको छ। महाधिवेशनसँगै नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढ्ने भएकाले उम्मेदवारी शुल्क निर्धारणलाई संगठनात्मक व्यवस्थापन र प्रतिस्पर्धा व्यवस्थित गर्ने कदमका रूपमा हेरिएको छ।
प्रतिक्रिया दिनुहोस