दाङ,३ असार । दाङका विभिन्न स्थानबाट प्रहरीले ४ नाल अवैध भरुवा बन्दुकसहित अन्य सामग्री बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक असिम हमालको कमाण्डमा खटिएको टोलीले मंगलबार गस्तीका क्रममा तुलसीपुर उपमहानगरपालिका–१३ स्थित जुमिलकुला लेडुवा सामुदायिक वनबाट १ नाल अवैध भरुवा बन्दुक बरामद गरेको हो।
त्यसैगरी, बुधबार प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षक टेकबहादुर कुसारीको कमाण्डमा खटिएको टोलीले घोराही उपमहानगरपालिका–२ बलारामपुरस्थित गौरी बबई सामुदायिक वनबाट ३ नाल अवैध भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ।
सोही स्थानबाट बन्दुकमा प्रयोग हुने ४२ वटा फलामका टुक्रा, २० वटा केप, एक थान चक्कु तथा करिब २०० ग्राम बारुद समेत बरामद गरिएको छ।
बरामद भएका सामग्रीका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक डा. हेमबहादुर कसीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस