after_navbar

देशभर वर्षा सक्रिय: पश्चिमका जिल्लामा बाढीको जोखिम बढ्दो


१ घण्टा अगाडि


दाङ,१७ असार । देशका अधिकांश स्थानमा वर्षा सक्रिय भएसँगै पश्चिमका केही जिल्लामा बाढीको जोखिम बढेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा कास्की र लमजुङमा सबैभन्दा धेरै ६७ मिलिमिटर वर्षा मापन भएको छ। दाङ र सिन्धुपाल्चोकमा पनि ४० मिलिमिटरभन्दा बढी वर्षा भएको छ।

बाँके, बर्दिया र कैलाली भएर बग्ने साना नदीमा पानीको बहाव बढ्दै गएकाले नदी आसपास तथा डुबान हुने क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

आज कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा तराईका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेश तथा बागमती प्रदेशका पहाडी क्षेत्रमा पनि आंशिक रूपमा भारी वर्षा हुन सक्ने जनाइएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि केही स्थानमा ठूलो वर्षाको सम्भावना रहेकाले आवश्यक पूर्वतयारी र सावधानी अपनाउन आग्रह गरेको छ।

गत असार ५ गते पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन हिजोदेखि देशभर फैलिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। औसत मितिभन्दा ६ दिन ढिला प्रवेश गरेको मनसुन देशभर फैलिन १२ दिन लागेको हो।

सामान्यतया एक साताभित्र देशभर फैलिने मनसुन यस वर्ष गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा केही समय स्थिर भएपछि ढिलो फैलिएको हो। अहिले भने पश्चिमी वायुको प्रभाव हट्दै मनसुन पूर्ण रूपमा सक्रिय भएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="