दाङ, १८ असार । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा आज एउटा यात्रुबाहक माइक्रो गाडी दुर्घटना भई कर्णाली नदीमा खसेको छ ।
सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख १०५५ नम्बरको फोर्स गाडी सडकबाट करिब ४०० मिटर तल खसेर नदीमा डुबेको प्रहरीले जनाएको छ । गाडीमा चालकसहित ५ जना सवार रहेको अनुमान गरिएको छ । दुर्घटनामा परेका चालक सुर्खेतको पञ्चपुरी नगरपालिका–८ निवासी २८ वर्षीय तुलाराम सुवेदी हुन् ।
एक जनाको उद्धार, अन्यको खोजी जारी
घटनास्थलमा खटिएका सुरक्षाकर्मी र स्थानीयबासीका अनुसार अहिलेसम्म एक जना पुरुषलाई फेला पारी नदीबाट सडकतर्फ ल्याउने कार्य भइरहेको छ । उनको अवस्था र पहिचान खुल्न बाँकी छ ।
”गाडी निकै माथिबाट खसेर नदीमा डुबेकाले उद्धारमा केही कठिनाइ भइरहेको छ,” उद्धारमा संलग्न स्रोतले जनाएको छ ।
नदीमा बेपत्ता भएका अन्य यात्रुहरूको खोजी र उद्धार कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस