after_navbar

मन्त्रिपरिषद्को निर्णय: गोरखापत्र संस्थानमा नियुक्तिदेखि एआईजी सरूवासम्म


घण्टा अगाडि


काठमाडौं, १८ असार ।सरकारले नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूको सरुवा गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले एआईजीहरूको सरुवा गर्नुका साथै विभिन्न संस्थानहरूमा नियुक्ति र महत्त्वपूर्ण नीतिगत निर्णयहरू गरेको हो।

​बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विभिन्न सरकारी निकायमा रिक्त पदहरूको पूर्ति, नियमावली संशोधन र नयाँ नीतिहरू स्वीकृत गरिएको जानकारी दिए।

मन्त्रिपरिषद् बैठकले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा कैलालीका हिक्मतबहादुर रावल र सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगानालाई नियुक्त गरेको छ। यसैगरी, विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गर्ने निर्णय भएको छ।

​त्यस्तै सरकारले सामाजिक र शैक्षिक क्षेत्रमा सुधार गर्ने उद्देश्यका साथ ‘कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली, २०८३’ र ‘शिक्षा १०औं संशोधन नियमावली, २०८३’ स्वीकृत गरेको छ। यसका साथै राष्ट्रिय सदाचार नीति, २०८३ र राष्ट्रिय विज्ञापन नीति, २०८३ लाई समेत मन्त्रिपरिषद्ले स्वीकृत गरेको मन्त्री पोखरेलले बताए।

बैठकले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्न बनेको विधेयकलाई सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ।

​यस्तै, एग्रिमेण्ट अन्डर द युनाइटेड नेसन कन्भेन्सन अन द ल अफ द सी अन द कन्जर्भेसन एण्ड सस्टेनेबल युज अफ मरिन बायोलोजिकल डाइभर्सिटी अफ एरियाज बियोण्ड नेसनल जुरिसडिक्सनलाई अनुमोदनका लागि सङ्घीय संसद्‌मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="