काठमाडौ,२२ असार । सुडानमा जारी गृहयुद्धका कारण पछिल्लो ६ महिनामै ३०० भन्दा बढी बालबालिकाको मृत्यु भएको छ। युनिसेफका अनुसार तीमध्ये अधिकांश बालबालिकाको ज्यान ड्रोन आक्रमणमा गएको हो। युद्ध तीव्र बन्दै जाँदा बालबालिका हिंसा, विस्थापन र मानवीय सङ्कटको सबैभन्दा ठूलो मारमा परिरहेका छन्।
सन् २०२३ अप्रिलदेखि सुडानी सेना र द्रुत समर्थन बल (आरएसएफ)बीच द्वन्द्व जारी छ। अहिले यो लडाइँ मुख्यतः कोर्डोफान, डार्फर र ब्लू नाइल क्षेत्रमा केन्द्रित छ।
युनिसेफका अनुसार पछिल्ला महिनामा ड्रोन युद्ध तीव्र भएको छ र कुल हताहतमध्ये करिब ६० प्रतिशत घटना ड्रोन आक्रमणसँग सम्बन्धित छन्। रणनीतिक रूपमा महत्त्वपूर्ण उत्तर कोर्डोफानको एल ओबिड सहरका लागि भइरहेको लडाइँका क्रममा सम्भावित युद्ध अपराध र मानवअधिकार उल्लङ्घनबारे संयुक्त राष्ट्रसङ्घ, अमेरिका र बेलायतले चिन्ता व्यक्त गरेका छन्।
हालसम्म यस युद्धमा कम्तीमा ५९ हजार मानिसको मृत्यु भइसकेको छ भने करिब १ करोड ३० लाख नागरिक विस्थापित भएका छन्। करिब ३ करोडभन्दा बढी मानिस मानवीय सहायतामा निर्भर छन्।
ड्रोन आक्रमण र गोलाबारीका क्रममा विद्यालय, बजार, इन्धन भण्डारण केन्द्र र खानेपानीका संरचनासमेत निशाना बनाइएकाले पाँच लाखभन्दा बढी नागरिक प्रत्यक्ष जोखिममा परेका छन्। धेरै क्षेत्रमा सर्वसाधारणले एक वर्षभन्दा बढी समयदेखि कठिन अवस्था भोगिरहेका छन्।
सुडानका लागि युनिसेफका प्रतिनिधि शेल्डन येटले बालबालिका हिंसा र अभावको अन्तहीन चक्रमा फसेको भन्दै तत्काल सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका छन्।
संयुक्त राष्ट्रसङ्घले पनि द्वन्द्वरत पक्षहरूलाई नागरिक तथा पूर्वाधारको संरक्षण गर्न, मानवीय सहायता सहज रूपमा पुर्याउन र बालबालिकालाई जोगाउन सबै उपाय अपनाउन आह्वान गरेको छ।
प्रतिक्रिया दिनुहोस