काठमाडौ,२७ असार । सरकारले आगामी सोमबारदेखि नयाँ प्रणालीमार्फत राहदानी सेवा वितरण सुरु गर्ने भएको छ। यसका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार सहज, सरल र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले नयाँ प्रणाली लागू गर्न लागिएको हो। नयाँ प्रणाली प्रारम्भसँगै केही समय सामान्य प्राविधिक समस्या देखिन सक्ने भए पनि सेवा प्रवाहलाई व्यवस्थित बनाउन प्रयास भइरहेको उनले बताए।
छापिएका राहदानी सम्बन्धित जिल्ला तथा इलाका प्रशासन कार्यालयसम्म छिटो पु¥याउन हुलाक विभागसँग सम्झौता भइसकेको छ।
यसैबीच, जुनसुकै जिल्लाबाट राहदानी आवेदन दिन सकिने व्यवस्था कार्यान्वयनका लागि प्रक्रिया अघि बढाइएको छ। सेवाग्राहीले आफू नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सक्ने व्यवस्था मिलाउने तयारी रहेको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस