दाङ,३१ असार। जिल्ला प्रहरी कार्यालय दाङले अवैध रूपमा भन्सार छली गरी नेपाल भित्र्याइएका कपडा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको टोलीले राप्ती गाउँपालिका-१ स्थित भालुवाङ चोकमा पूर्व-पश्चिम राजमार्गमा सवारी चेकजाँचका क्रममा उक्त सामान फेला पारेको हो। कृष्णनगरबाट घोराहीतर्फ आउँदै गरेको बसको डिक्कीमा लुकाइछिपाइ राखिएको बिलबिजकविहीन कपडा बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी डा. हेमबहादुर केसीका अनुसार बरामद कपडाको अनुमानित मूल्य १ लाख ४६ हजार रुपैयाँ रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस