after_navbar

लुम्बिनीमा कांग्रेस-एमाले खटपट: सरकार फेरबदलको तयारी


१४ घण्टा अगाडि


दाङ,३२ असार । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको सत्ता गठबन्धनमा दरार देखिएसँगै सरकार फेरबदलको खेल सुरु भएको छ। पार्टी केन्द्रको निर्देशनअनुसार कांग्रेस प्रदेश सरकारबाट बाहिरिने तयारीमा जुटेको छ।

कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज बस्ने संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा निर्णय गर्न सक्ने बताएका छन्। ‘आजको बैठकले टुंगो लाग्छ,’ उनले भने।

कांग्रेसको समर्थनमा ७ साउन २०८१ मा एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री नियुक्त भएका थिए। हाल प्रदेश सरकारमा कांग्रेसका पाँच मन्त्री सहभागी छन्।

८७ सदस्यीय प्रदेश सभामा अहिले ८३ सदस्य कायम छन्। जसमध्ये एमालेका २९, कांग्रेसका २७ र नेकपाका १३ (एक जना सभामुखसहित) सदस्य रहेका छन्।

कांग्रेसले समर्थन फिर्ता लिएमा एमालेले वैकल्पिक समीकरणका लागि नेकपासँग सहकार्यको प्रयास गर्ने संकेत दिएको छ। प्रदेश सरकारका मन्त्री तुलसी चौधरीले कांग्रेसले गठबन्धन नतोडोस् भन्ने एमालेको चाहना रहेको बताए।

‘कांग्रेस बाहिरिए नयाँ सत्ता सहकार्यका लागि नेकपासँग प्रस्ताव गर्न सक्छौं,’ उनले भने। प्रदेश सभामा अन्य साना दलहरूको पनि उपस्थिति छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, जनता समाजवादी पार्टीका २, जनमत पार्टीका ३, जसपाका १ तथा राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र सांसद रहेका छन्।

प्रतिक्रिया दिनुहोस

data-href="