काठमाडौ,३२ असार । मधेश प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकार यथावत् रहने संकेत देखिएको छ।अन्य प्रदेशमा सत्ता समीकरण फेरबदलको चर्चा चलिरहे पनि मधेसमा भने सरकारको नेतृत्व गरिरहेका दलका नेताहरूले वर्तमान गठबन्धनलाई निरन्तरता दिनेमा सहमति जनाएको बताएका हुन् ।
मधेश प्रदेशमा कांग्रेसका कृष्णप्रसाद यादवको नेतृत्वमा सरकार सञ्चालनमा छ। कांग्रेस, नेकपा एमाले र नेकपाबीचको गठबन्धनमा आधारित यो सरकारलाई तत्काल असर नपर्ने नेताहरूको दाबी छ।
कांग्रेसको केन्द्रिय निर्देशनका कारण अन्य प्रदेशमा राजनीतिक हलचल देखिए पनि मधेशमा भने गठबन्धन दलहरूबीच छलफल गरेर सरकारलाई निरन्तरता दिने समझदारी बनेको छ। यसै क्रममा मुख्यमन्त्री कृष्णप्रसाद यादव, नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादव र अर्थमन्त्री युवराज भट्टराईबीच छलफल भएको थियो।
गत १२ जेठमा सरकार विस्तारअघि तीन दलबीच चुनावसम्मै सहकार्य गर्ने लगायतका १५ बुँदे सहमति भएको थियो। सोही सहमतिअनुसार सरकारलाई निरन्तरता दिने विषयमा पुनः प्रतिबद्धता व्यक्त गरिएको नेताहरूले बताएका छन्।
एमाले संसदीय दलका नेता सरोज यादवले प्रदेशस्तरमा कुनै विवाद नरहेको उल्लेख गर्दै सरकारलाई समर्थन कायम रहने बताए। “प्रदेशमा तीन दलबीच कुनै समस्या छैन। ‘केन्द्रको समीकरणअनुसार प्रदेश चलाउनुपर्छ भन्ने हाम्रो मान्यता होइन,’उनले भने,’अघिल्ला अभ्यासले पनि फरक-फरक तहमा फरक सरकार सम्भव छ भन्ने देखाइसकेको छ।’
अर्थमन्त्री युवराज भट्टराईले हालै बजेट सर्वसम्मत पारित भएको उल्लेख गर्दै सरकार स्थिर रहेको बताए। ‘यो सरकार विशेष परिस्थितिमा बनेको हो, त्यसैले अन्य प्रदेशको प्रभाव यहाँ पर्दैन,’ उनले भने।
मधेश प्रदेशमा गत १९ मंसिरमा कांग्रेससहित विभिन्न दलका ७७ सांसदको समर्थनमा कृष्णप्रसाद यादव मुख्यमन्त्री बनेका थिए।
प्रतिक्रिया दिनुहोस