after_navbar

मानव बेचविखन मुद्दामा तुलसीपुरका एक दम्पतीलाई ३० वर्ष कैद सजाय


श्रावण ०१, २०८३


दाङ,१ साउन । २२ वर्षीय महिलालाई भारत लगेर बेचविखन गरेको अभियोगमा जिल्ला अदालत दाङले तुलसीपुरका एक दम्पतीसहित तीन जनालाई दोषी ठहर गर्दै कैद सजाय सुनाएको छ। अदालतले तुलसीपुर उपमहानगरपालिका–१६ का ३० वर्षीय राजेश नेपाली र उनकी पत्नी ३५ वर्षीया राधा पाण्डेलाई जनही ३० वर्ष कैद सजाय तोकेको हो।

जिल्ला न्यायाधीश लालसिंह थापाको इजलासले बिहीबार गरेको फैसलाअनुसार राजेश नेपालीलाई ३० वर्ष ६ महिना कैद, २ लाख ५ हजार रुपैयाँ जरिवाना र ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने ठहर गरिएको छ। यस्तै, राधा पाण्डेलाई ३० वर्ष कैद, २ लाख रुपैयाँ जरिवाना र ५० हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने आदेश दिइएको छ।

मुद्दामा संलग्न भारतीय नागरिक उत्तर प्रदेश बलरामपुर जिल्ला इमिलियाका ४९ वर्षीय रामनिवास मौर्यलाई अदालतले २७ वर्ष कैद, ३ लाख ५० हजार रुपैयाँ जरिवाना र १८ हजार रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने फैसला गरेको छ।

अदालतका अनुसार राजेश नेपालीलाई मानव बेचविखन कसुरमा २० वर्ष, महिलालाई यौनजन्य गतिविधिमा लगाएको कसुरमा १० वर्ष र पटके कसुरमा थप ६ महिना गरी कुल ३० वर्ष ६ महिना कैद सजाय तोकिएको हो। राधा पाण्डेलाई मानव बेचविखनमा २० वर्ष र यौनजन्य गतिविधिमा संलग्न गराएको अभियोगमा १० वर्ष गरी ३० वर्ष कैद सजाय दिइएको छ। मौर्यलाई भने मानव बेचविखनमा २० वर्ष र जबरजस्ती करणी कसुरमा थप ७ वर्ष गरी २७ वर्ष कैद सजाय सुनाइएको हो।

अभियोगअनुसार राजेश र राधाले दाङकी एक महिलालाई सस्तोमा सामान किन्ने बहानामा २०८१ माघ ४ गते भारतको कृष्णनगर हुँदै बलरामपुर पुर्‍याई भारु ३५ हजारमा रामनिवास मौर्यलाई बिक्री गरेका थिए।

प्रतिक्रिया दिनुहोस

data-href="