after_navbar

डा. केसीले दिए तीनबुँदे माग राख्दै अनसन बस्ने चेतावनी


१५ घण्टा अगाडि


काठमाडौ,१ साउन । वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राडा गोविन्द केसीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका बेथितिविरुद्ध पुनः आमरण अनसन (सत्याग्रह) बस्ने चेतावनी दिएका छन्।

शुक्रबार जारी प्रेस विज्ञप्तिमार्फत उनले आफ्ना तीनबुँदे मागहरू साउन ५ गतेभित्र सम्बोधन नभए विगतमा स्थगित गरिएको सत्याग्रहसहितका सशक्त आन्दोलनका कार्यक्रम पुनः सुरु गर्ने घोषणा गरेका हुन्।

यसअघि उनले असार २५ गतेसम्म चिकित्सा शिक्षा आयोगमा उपाध्यक्ष नियुक्त नगरे अनसन बस्ने चेतावनी दिएका थिए। सरकारले असार २४ गते उपाध्यक्ष नियुक्त गरेपछि उनले उक्त कार्यक्रम स्थगन गरेका थिए।

विज्ञप्तिमा डा. केसीले स्वास्थ्य सेवा र चिकित्सा शिक्षा विशुद्ध गैरनाफामूलक र सार्वजनिक सेवा क्षेत्र हुनुपर्नेमा जोड दिएका छन्। तर वर्तमान सरकारले निजी मेडिकल माफिया र स्वार्थ समूहको प्रभावमा परेर निर्णय गरिरहेको आरोप उनले लगाएका छन्।

उनले विकसित मुलुकहरूमा समेत स्वास्थ्य र चिकित्सा शिक्षा सेवा गैरनाफामूलक ढाँचामा सञ्चालन हुने उदाहरण दिँदै नेपालमा भने न्यूनतम मापदण्ड नपुगेका निजी मेडिकल, डेन्टल र नर्सिङ कलेजहरूको संख्या अत्यधिक रहेको उल्लेख गरेका छन्।

नियामक निकाय र विश्वविद्यालयहरूमा स्वार्थ समूहका व्यक्तिहरूको नियुक्तिले समग्र स्वास्थ्य प्रणालीमा दीर्घकालीन नकारात्मक प्रभाव पार्ने चेतावनी दिँदै उनले समयमै माग सम्बोधन नभए आन्दोलनमा उत्रिन बाध्य हुने बताए। ‘त्यसबाट उत्पन्न हुने जुनसुकै विषम परिस्थितिको शतप्रतिशत जिम्मेवार वर्तमान सरकार नै हुनेछ,’ उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।


यी हुन् डा. केसीका ३ बुँदे मागहरू:

१. स्थापित नियम, मूल्य र मान्यता विपरीत स्वार्थको द्वन्द्व हुने गरी मेडिकल विश्वविद्यालय लगायत चिकित्सा शिक्षाका नियमनकारी निकायमा नियुक्त गरिएका पदाधिकारीहरूको नियुक्ति तुरुन्त खारेज गरियोस्।


२. चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड तथा पूर्वाधारविना नै निजी कलेजहरूलाई पुनः सिट वृद्धि गर्ने प्रस्तावहरू तत्काल खारेज गरियोस्।


३.राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ु बमोजिम चिकित्सा शिक्षालाई २०८५ सालभित्र पूर्ण रूपमा गैरनाफामूलक बनाउने कानुनी प्रावधान शीघ्र कार्यान्वयन गरियोस्।

प्रतिक्रिया दिनुहोस

data-href="