दाङ,११ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तुलसीपुर उपमहानगर कार्यसमितिले रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्न आम नागरिकलाई अपिल गरेको छ।
सभापति जीवन भण्डारीद्वारा जारी विज्ञप्तिमा बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
विज्ञप्तिमा बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, घाइतेको उद्धार र प्रभावित नागरिकको सुरक्षालाई तत्काल प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरिएको छ। उद्धार कार्यमा सरकारले उपलब्ध सबै स्रोतसाधन परिचालन गरी शीघ्र उद्धार सम्पन्न गर्नुपर्ने रास्वपाको माग छ।
विपद्को समयमा सबै नेपाली एकजुट भएर सहयोगमा जुट्नुपर्ने भन्दै रास्वपाले राजनीतिक दल, सामाजिक संघसंस्था, उद्योगी,व्यवसायी, युवा स्वयंसेवक तथा आम नागरिकलाई आ-आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रह गरेको छ।
त्यस्तै, बाढी प्रभावितलाई तत्काल सुरक्षित स्थानमा व्यवस्थापन गर्नुका साथै दीर्घकालीन पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गर्न समेत अपिल गरिएको छ।
विज्ञप्तिमा बाढीपीडितको दुःखमा पार्टी साथमा रहेको उल्लेख गर्दै राहत तथा उद्धार अभियानमा हातेमालो गर्न सबैलाई आग्रह गरिएको छ।
प्रतिक्रिया दिनुहोस