दाङ, ११ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सल्यानका ४९ जना सम्पर्कविहीन भएको प्रारम्भिक विवरण प्राप्त भएको छ। तीमध्ये केही घाइते अवस्थामा सम्पर्कमा आएका छन् भने अन्यको खोजी भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बनगाड कुपिण्डे नगरपालिका-६ गैरीगाउँका मात्रै नौ जना र गगनकटेराका दुई जना बाढीपछि सम्पर्कविहीन भएका छन्। गैरीगाउँका गिरिलाल बुढाथोकी घाइते अवस्थामा सम्पर्कमा आएका छन् भने उनकी श्रीमती र चार छोराछोरी बेपत्ता छन्।
प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार सल्यानका विभिन्न स्थानीय तहका बासिन्दा रसुवा तथा नुवाकोटमा रोजगारीका क्रममा रहेका बेला बाढीपछि सम्पर्कविहीन भएका हुन्। जिल्लाका केही व्यक्ति घाइते अवस्थामा परिवारको सम्पर्कमा आएको प्रहरीले जनाएको छ।
रुकुम पश्चिमका १४ जना भोटेकोशी बाढीपछि सम्पर्कविहीन रहेको जानकारी आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार सुरुमा १६ जनाको विवरण प्राप्त भए पनि दुई जना सम्पर्कमा आएका छन्।
सम्पर्कविहीन भनिएका केही व्यक्ति जिल्लाबाट बसाइँ सरेर बर्दिया गएको हुनसक्ने जानकारीसमेत आएकाले प्रहरीले विवरण यकिन गर्ने काम भइरहेको जनाएको छ।
रुकुम पूर्वका तीन जना पनि बाढीपछि सम्पर्कविहीन रहेको परिवारले प्रहरीलाई जानकारी दिएका छन्। भूमे गाउँपालिका-३ का प्रहरी जवान मिलन श्रेष्ठसहित भूमे-३ र सिस्ने गाउँपालिका-४ का एक/एक जना सम्पर्कविहीन रहेको जिल्ला प्रहरीले जनाएको छ।
रोल्पाका ६ जना भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएको जानकारी आफन्तले प्रहरीलाई गराएका छन्। जिल्ला प्रहरी कार्यालय रोल्पाले प्राप्त विवरणको थप यकिन गर्ने काम भइरहेको जनाएको छ।
प्यूठानका तीन जना पनि रसुवाको बाढीमा परेर सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरीले जनाएको छ। उनीहरूको अवस्थाबारे आधिकारिक विवरण संकलन तथा पुष्टि गर्ने प्रयास भइरहेको प्रहरीको भनाइ छ।
भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा सञ्चार सम्पर्क तथा सडक अवरुद्ध भएकाले सम्पर्कविहीन व्यक्तिको यकिन संख्या र अवस्थाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस