दाङ,११ भदौ। तुलसीपुर उद्योग वाणिज्य संघले बाढीपीडितका लागि १ लाख १ हजार १११ रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
संघका कार्यवाहक अध्यक्ष नरेशकुमार राजभण्डारीको अध्यक्षतामा बसेको आकस्मिक बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग गर्ने निर्णय गरेको महासचिव केशवराज केसीले जानकारी दिए।
बैठकमा संघअन्तर्गतका २१ वटा उपसमितिका संयोजक तथा प्रतिनिधिहरूको सहभागिता थियो। बैठकले रसुवास्थित भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, धादिङ, नुवाकोट, गोरखालगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेको छ।
संघका पूर्वअध्यक्ष विमल रिजालले विपद्को यस घडीमा मानवीय सहयोगमा जुट्न सम्पूर्ण उद्योगी तथा व्यवसायीलाई आह्वान गरे। उनले एकद्वार प्रणालीमार्फत स्वेच्छिक सहयोग गरी उद्धार तथा राहत अभियानमा हातेमालो गर्न व्यवसायीलाई आग्रह गरे।
संघका उपाध्यक्ष देवबहादुर केसीले विपद्मा परेका नागरिकको सहयोगका लागि सबैले आफ्नो क्षमताअनुसार योगदान गर्नुपर्ने बताए।
बैठकमा सहभागी व्यवसायीहरूले बाढी प्रभावित क्षेत्रको अवस्थाप्रति दुःख व्यक्त गर्दै पीडितको उद्धार तथा राहतका लागि आवश्यक सहयोग गर्न आफूहरू तत्पर रहेको प्रतिबद्धता जनाएका छन्।
प्रतिक्रिया दिनुहोस