after_navbar

लुम्बिनीमा कांग्रेसका मन्त्री तत्काल नहट्ने


१० घण्टा अगाडि


दाङ ,१ साउन। केन्द्रीय तहमा सत्ता सहकार्य अन्त्य गर्ने निर्णय भए पनि लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले तत्काल राजीनामा नदिने भएका छन्।

लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले तत्काल सरकारबाट बाहिरिने सम्भावना नरहेको स्पष्ट पार्दै केन्द्रबाट आउने थप राजनीतिक निर्देशन र अन्य प्रदेशको अवस्थालाई हेरेर मात्रै निर्णय लिइने बताए।

यसअघि दाङमा कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले बोलाएको बैठकले पनि एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने वा मन्त्रीहरूलाई फिर्ता बोलाउने विषयमा तत्काल निर्णय नगरी केही समय पर्खिने निष्कर्ष निकालेको थियो।

दलका नेता, प्रमुख सचेतक र सचेतकसहितको अनौपचारिक छलफलले पनि तत्काल मन्त्रीहरूले राजीनामा नदिनेमा सहमति जनाएको स्रोतले जनाएको छ।

हाल लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेसका पाँच मन्त्री सहभागी छन्। केन्द्रबाट स्पष्ट निर्देशन आएपछि मात्रै सरकारमा रहने वा समर्थन फिर्ता लिने विषयमा अन्तिम निर्णय हुने कांग्रेस नेताहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस

data-href="