काठमाडौ, १ साउन । संघीय संसद् सचिवालयले सांसदहरूलाई आर्थिक वर्ष २०८२/०८३ को अद्यावधिक सम्पत्ति विवरण अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको छ।
शुक्रबार जारी सूचनामा सांसदहरूले आफ्नो तथा परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको विवरण खामबन्दी गरी पेश गर्नुपर्ने उल्लेख छ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५०(१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१(१) अनुसार सांसदहरूले तोकिएको समयसीमाभित्र विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था रहेको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार साउन १ गतेदेखि भदौ २९ गतेभित्र ६० दिनको समयावधिमा सम्पत्ति विवरण बुझाइसक्नुपर्नेछ। तोकिएको समयसीमा नाघेमा कानुनअनुसार कारबाही हुने चेतावनी पनि दिइएको छ।
प्रतिक्रिया दिनुहोस