काठमाडौ,६ साउन। अफगानिस्तानमा बाडीका कारण कम्तीमा २३ जनाको मृत्यु भएको छ । पूर्वी नुरिस्तान प्रान्तमा आएको भीषण बाढीका कारण कम्तीमा २३ जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी मानिस अझै बेपत्ता रहेका छन्।
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार बाढीपछि उद्धार तथा राहत टोलीहरू भग्नावशेषमा पुरिएका मानिसहरूको खोजीमा जुटिरहेका छन्। अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण ले सोमबार आएको बाढीमा ८० जना घाइते भएको पुष्टि गरेको छ।
बाढीका कारण प्रान्तीय राजधानी पारुनलगायत विभिन्न क्षेत्रमा घर तथा संरचनाहरूमा ठूलो क्षति पुगेको छ। अधिकारीहरूले देशका धेरै भागमा अझै भारी वर्षाको जोखिम कायम रहेको चेतावनी दिएका छन्।
मौसम विभागले आगामी दिनहरूमा भारी वर्षा, चट्याङ, हुरीबतास तथा थप बाढी आउन सक्ने सम्भावना रहेको जनाएको छ। ३४ मध्ये १० प्रान्तमा उच्च सतर्कता (अलर्ट) जारी गरिएको छ र स्थानीयलाई नदी किनार तथा जोखिमयुक्त क्षेत्रबाट टाढा रहन आग्रह गरिएको छ।
गत वर्ष आएको भीषण बाढीमा ३०० भन्दा बढीले ज्यान गुमाएका थिए भने यस वर्ष मात्रै बाढी र पहिरोका घटनामा ११० भन्दा बढीको मृत्यु भइसकेको तथ्यांक सार्वजनिक भएको छ।
प्रतिक्रिया दिनुहोस